अपडेटः मिनीट्रक दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाँउपालिका वडा न. ६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा.३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तीन जना महिला र १५ जना पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतक मध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ ।

घटनास्थलबाट उद्धार गरिएका मध्ये सात जनालाई उपचारको लागी अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुदाँ उपचारको लागी पठाउन कठिनाई भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए ।

घटनास्थलमा उद्धारको कार्य भइरहेको छ । गाडीमा ४० जना भन्दाबढी यात्रु रहेको बताइएको छ ।

सिम्टाङ स्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो ।

कच्ची सडकमा उकालोतर्फ जादै गरेको मिनीट्रक दुर्घटना हुदाँ सडकबाट करीब पाँचसय मिटर तल तादी खोलामा पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?