६ वर्षपछि आज कांग्रेस महासमिति बैठक, अलमलमा महसमिति सदस्य

कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज (शनिबार) सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो ।  

नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ ।

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा पराजय व्यहोरेपछि हुन लागेकाले यो महासमिति बैठकलाई कांग्रेस वृत्तले महत्वसाथ हेरेको छ । पार्टीलाई राजनीतिक उचाइ दिने गरी नीति, कार्यक्रम र संगठन बनाउनुपर्ने दबाब बैठकमा उठ्ने नेताहरूले बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यालय सानेपामा महासमिति सदस्यले हजार रुपैयाँ शुल्क तिरेर रजिस्ट्रेसन गराए । तर, विधान र राजनीतिक प्रस्तावको विषय मध्यरातसम्म पनि नटुंगिँदा उनीहरू अलमलमा थिए । सदस्यहरूलाई महासमितिमा प्रस्तुत हुने प्रस्तावको प्रतिसहितको झोला दिने तयारी थियो । तर, राजनीतिक प्रस्ताव र विधानको विषयको टुंगो केन्द्रीय समितिबाट लागेको थिएन । मुख्य प्रस्ताव नै नटुंगिएपछि उनीहरूलाई झोला मात्रै वितरण गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?