६ वर्षपछि कांग्रेस महासमिति बैठक आजबाट

काठमाडौं । कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक शनिबारदेखि राजधानीमा सुरु हुँदै छ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक हुन लागेको हो भने सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि पनि यो पहिलो महासमिति बैठक हो । 

महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५-५ जनाका दरले एक हजार दुई सय सहभागी हुदैछन् ।  केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन् । यस्तै, भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७-९७ जनाको सहभागिता रहनेछ । महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् ।

सिंहदरबारअगाडिको यलम्बर पार्टी प्यालेसमा हुने महासमिति बैठकको सभापति देउवाले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव गरेर बैठक सकाउने तालिका छ । उद्घाटन कार्यक्रम दुई घन्टा १५ मिनेटमा सकाउने र त्यसको केहीबेरपछि बन्दसत्र सुरु हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । 

उनका अनुसार बन्दसत्रमा विधानमा पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । सात प्रदेशका सात समूह बनाएर छलफल हुनेछ । विधान मस्यौदामा असहमतिका विषय महासमितिबाटै टुंगो लगाउने उनको भनाई छ । विधानका असहमतिमा शनिबार उद्घाटनपछि छलफल हुनेछ । 

कांंग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ । बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ । तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?