अब कलङ्की महाराजगञ्ज सडक पनि आठ लेनको बन्ने

ललितपुर । चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । 

यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए । 

चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने जानकारी दिँदै उनले भने, “मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्र्याक हुनेछ ।” 

सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण शुरु गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले थप पुल निर्माण थालेको हो । 

विभागको वैदेशिक महाशाखालले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ । सहप्रवक्ता सिंहले भने, “डिजाइन रिपोर्ट आएपछि कुन–कुन ठाउँमा कसरी काम गर्ने भन्ने योजना बन्नेछ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?