एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं ।  नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ ।

लगातार पाँच पटकसम्म कारवाही परेमा चालक अनुमतिपत्र ६ महीनाका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मङ्सिर २० गतेबाट नियम विपरीत चल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने योजनाअनुसार अभिलेख राख्न शुरु गरेको हो । 

सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कारवाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी खाली भएर पनि यात्रु चढाउन नमान्ने १८९ जना चालकलाई कारवाही गरिएको छ । 

यस्तै भाडा मोलमोलाइ गर्ने ९८ जना, मिटर बिगार्ने र प्रयोजनविपरीत प्रयोग गर्ने २० जनालाई कारवाही गरिएको सापकोटाले बताए । मङ्सिर महीनाभरिमा भने ७६५ ट्याक्सी चालक कारवाहीमा परिसकेको उनको भनाइ छ । 

निलम्बन प्रक्रियामा भने मङ्सिर २० गतेपछिको कारवाहीमा परेका ट्याक्सी चालकमा मात्र लागू हुनेछ । पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ । 

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको छ । अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिएको छ । पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने प्रवक्ता सापकोटाले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?