नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक सोमबार बस्ने

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बैठकको प्रारम्भ गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । यस्तै प्रचण्डले राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए । 

बैठकमा धारणा राख्दै प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए । राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले लिखित रुपमा फरक मत राखेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाका अनुसार अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन २२ पेज लामो रहेको छ ।

अर्को बैठक सोमबार पार्टी कार्यालय धुम्बाराहीमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो बैठक अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । ज्ञातअज्ञात सहिदहरु तथा दिवंगत अग्रज नेताहरुप्रति एकमिनेट मौनधारणबाट सुरु भएको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत भयो । २२ पृष्ठ लामो उक्त प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको छ । 

बैठकको अध्यक्षता गर्दै अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसरहरु प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभुतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउ“दै ऐतिहासिक अभिभाराहरु पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

बैठकले हालै नुवाकोटको दुप्चेश्वर गाउ“पालिका–१ घ्याङडा“डामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

त्यस्तै केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाप्रति पनि दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ । 
आजको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरी छलफल गर्न अर्को बैठक यही २०७५ पुस २ गते सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय ग¥यो । 
 
विष्णुप्रसाद पौडेल
महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?