हनुमन्ते सफाइ अभियानको ४२औँ हप्तामा

भक्तपुर ।  हनुमन्ते सफाइ अभियानको ४२औँ हप्ता तथा अरनिको राजमार्ग एक महीने सफाइ अभियानको आज २४औँ दिन भक्तपुर १३ टन फोहर सङ्कलन गरिएको छ । 

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा सञ्चालन भइरहेको हनुमन्ते नदी सफाइ अभियान र अरनिको राजमार्ग सफाइ अभियानलाई एकत्रित गरी आज भएका सफाइ अभियानमा सुरक्षाकर्मीदेखि जनप्रतिनिधिसमेत ४६७ जना सफाइ अभियानमा संलग्न रहेको थियो । 

सूर्यविनायक नगरपालिकाले चुनदेवीदेखि पाण्डुबजारसम्म र मध्यपुरथिमि नगरपालिकाले एसएस चोकबाट शङ्खधर चोकसम्म भएको सफाइ अभियानमा १३ टन फोहर सङ्कलन भएको हो । 

सफाइ अभियानको नेतृत्वकर्ता एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले फोहर फाल्नका लागि नगरपालिकाले विकल्प दिएको बताउँदै विकल्पको अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए ।

सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले अरनिको राजमार्ग क्षेत्र दायाँलगायत हनुमन्ते नदी आसपासका क्षेत्र र नगरभित्रको बासिन्दालाई फोहर सङ्कलन गर्न जनशक्ति परिचालन गर्दै सदस्यता बनाउने कार्य अगाडि बढाएको बताउँदै सदस्यता लिएर फोहर लिन आउने गाडीमा फोहर पठाउन आग्रह गरे । 

नगरपालिकाले दिएको विकल्पको बेवास्ता गर्दै राजमार्ग र हनुमन्ते क्षेत्रमा फोहर फालेमा रु ५०० देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्मको कैद वा दुवै सजाय हुने गरी कारवाही गरिने बताए । 

उनले भक्तपुरलाई सफा, उज्यालो, सुरक्षित, प्रदूषणरहित बनाउने लक्ष्यका साथ शुरु भएको सफाइ अभियान नरोकिने बताउँदै भक्तपुरको विकास र समृद्धिमा अवरोध पु¥याउँदै फोहर गर्नेलाई कारवाही गरिने बताए । 

टोलटोलमा विद्यार्थीदेखि स्थानीयवासीको संलग्नतामा अनुगमन टोली बनाई, फोहर फाल्नेको निगरानी बढाएको बताउँदै उहाँले भक्तपुरको विकास र समृद्धिमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरे । 

अभियानका क्रममा सांसद बस्नेतसँगै संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षासेवीलगायतको सहभागिता रहेको हनुमन्ते सफाइ अभियानमा उत्प्रेरक एवं अभियन्ता रुद्र पौडेलले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?