ओली सरकारविरुद्ध पशुपतिको राप्रपाले आन्दोलन गर्ने

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले सरकार विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

“दुई तिहाईको सरकारले विकासको लागि एउटा सिन्को पनि भाँचेको छैन । यो सरकारको औचित्य के हो भनेर सोध्ने बेला आइरहेको छ । दश महिने कार्यकाल हेर्ने हो भने सरकारले कुनै काम नगरेको यसै स्पष्ट हुन्छ । सरकारको यस्तो रवैया मुलुकको लागि हितकर छैन,” अध्यक्ष राणाले भने ।

“त्यसैले तथाकथित दुई तिहाईको सरकार विरुद्ध सडकमा गएर आन्दोलन गर्ने दिन आउदैछ,” राणाले थपे ।

राप्रपा प्रजातान्त्रिक सम्वद्ध काठमाडौं–पाँचथर सम्पर्क समितिद्वारा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै राणाले राप्रपाहरुबीच जारी एकता प्रयास चाँडै फलदायी हुने आशा समेत व्यक्त गरे ।

सम्पर्क समितिका सभापति जीतबहादुर अगुवाको अध्यक्षता सम्पन्न भेलामा, महामन्त्री राजाराम श्रेष्ठले राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिहरु एकजुट भएर मुलुकलाई निकास दिनुपर्ने बेला आएको बताए ।

सहमहामन्त्री सदस्य सगुन सुन्दर लावतीले भने, “नेकपा सरकारबाट अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र प्रेस, नीजि सम्पति, वैयक्तिक स्वतन्त्रामाथि अवरोध सिर्जना गर्ने चेष्टा हुनु सन्देहपूर्ण छ ।”

लावतीले सम्वद्र्धनवादको मान्यता अनुरुप नयाँ र पुराना पुस्ताको समीश्रणमा राष्ट्रवादी अभियान अगाडि बढाउनु पर्ने धारणा प्रस्तुत गरे ।

उच्च कार्यसम्पादन समितिका सदस्य जगत गौचनले राष्ट्रियता माथि गम्भीर प्रहार भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?