एक वर्षभित्र मुक्तकमैयाको व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

बाँके । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताएकी छन् ।

भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तर्किया कार्यक्रममा उनले भनिन्, 'शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं ।' मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइन् ।

आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उनले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने बताइन् । मन्त्री अर्यालले मुक्तकमैयाको समस्या समाधान यसै वर्ष हुनुपर्छ, यसका लागि आवश्यक सबै संयन्त्र प्रयोग गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइन् ।

अहिलेसम्म बर्दियामा १० हजार ७ सय ९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन् । तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन् ।

पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?