कांग्रेस महासमिति बैठक : के-के हुदैछ आज?

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेस महासमिति बैठकमा आइतबारदेखि बन्दसत्र सुरु हुदैछ ।

सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमितिमा बन्दसत्र सुरु हुन लागेको हो । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरुमाथि छलफल हुनेछ ।

५ वटा प्रतिवेदन पेश हुनु पर्नेमा शनिबार एउटामात्रै प्रतिवेदन पेश भएकाले बाँकी ४ वटा प्रतिवेदन आइतबार पेश हुदैछन् । शनिबार उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

महासमितिमा आज सह-महामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्नेछिन् ।

यसैगरी महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्ने र अर्का महामन्त्री डा. सशांक कोइरालाले सांगठनीक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

नेताहरुले सबै प्रतिवेदन पेश गरेपछि आजैबाट बन्द सत्रमा छलफल शुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।

पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न प्रदेशगत रुपमा ७ वटा समूह बनाउने तयारी गरिएको छ । महासमिति बैठकमा १७ सय प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?