चाउमिन खाँदा दुई बालकको मृत्यु

 कञ्चनपुरको कृष्णपुर नगरपालिका-३  आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

१२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो ।

शनिबार बेलौरीमा रहेको (मामाघर) विवाहमा सहभागी हुन आमा विमलादेवीसँगै जाने क्रममा उनीहरुले ठूली आमा सीतादेवीले दिएको चाउमिन खाएका थिए ।

चाउमिन खाएका दुई  भाइले नै बान्ता गर्न थालेपछि बेलौरीको प्राथमिक स्वास्थ्यकेन्द्रमा मा भर्ना गरिएको थियो । उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । उनीहरु अहिले आमासहित ठूलो बुबा र आमाको आश्रयमा थिए ।चाउमिन खाएर मृत्यु भएपछि स्थानीयवासीले ठुलोबुवा र आमाले चाउमिनमा विषादी मिसाएर उनीहरुको हत्या गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ ।

चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?