बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान

बर्दिवास । वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् ।

भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन्।

उखु खेती गरिएका खेतबारीमा बँदेल र दुम्सी बाक्लै पसेका र नीलगाई त हुलमै बस्तीभित्रै देखिने गरेको भारतीय सीमाक्षेत्र नजिकका जिल्लावासीको भनाइ छ । अहिले उखुघारीभित्र बँदेल बसेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेख मन्सुरले बताए ।

बँदेलले प्रत्येक रातजसो फुलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलको डरले खेतबारी डुल्न, ससाना नानीहरू विद्यालय पठाउन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादवले गुनासो गरे ।

गत वर्षहरूमा नीलगाईको हुल तलैसम्म (भारतीय सीमाक्षेत्र) पुगेपनि सो भेगमा बँदेल र दुम्सी भने यसपालि पहिलोपटक देखिएका हुन् । ‘नीलगाई त पछिल्ला पाँच/सात वर्षयता हिउँदमा बाक्लै देखिन्थे,’ भारतीय सीमावर्ती गाउँ गैढाभेटपुरका सामाजिक, राजनीतिक कार्यकर्ता सौखीलालले भने, ‘बँदेल र दुम्सी चाहिँ यसैपालि देखिएका हुन् ।’

नीलगाई चर्दै हिँड्ने हुँदा धेरै बाली नोक्सान नहुने बताउने तर बँदेलले भने तरकारी बाली सखाप नै पार्ने गरेको किसानले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रमा यसपालि मात्र देखिएको भएपनि जिल्लाको उत्तरी क्षेत्रको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रमा तीन/चार वर्षयता बँदेल बाक्लै देखिँदै आएका छन् ।

उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरू बताउँछन् ।

अहिले जिल्लाको भङ्गाहा नगरपालिका-४ को रामनगर, पलार, टोकाटोल र प्रेमनगरमा जङ्गली बँदेल पसेर बालीनाली नोक्सान पारिरहेको छ । त्यसैगरी भङ्गाहाकै वडा नम्वर-५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जङ्गली बँदेल पसेर उधुम मच्चाएको सो वडाका वडाअध्यक्ष शिव महतोले बताए ।

बँदेलले तरकारीबाली नोक्सान गर्दै घरकरेसामै केराका थाम उखेलेर नोक्सान गरिरहँदा पनि घरभित्रबाट कराउनुबाहेक धपाउन अन्य उपाय गर्न नसकिएको किसान बताउँछन् ।

बँदेल खासगरी मध्यरातपछि समूहमा बस्ती पस्ने गरेका छन् । बिहान साढेचार बजेसम्म बालीनाली सखाप पारेपछि बँदेल लुक्न उखुघारी पस्ने गरेको किसानको भनाइ छ । नजिकै बाली नोक्सान गरिरहेको थाहा पाइए पनि आक्रमण गर्ला भन्ने डरले धपाउन नसकिएको बर्दिवास-९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउँछन् ।

बँदेलले बस्ती नजिकका उखुघारीलाई बासस्थल बनाएको किसानको भनाइ छ । बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई बँदेलले लघार्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।

वनक्षेत्रमा पतझर भएर नाङ्गो देखिन थालेसँगै सिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती/बस्ती पसेको वन्यजन्तुको आनीबानी बुझेकाहरूरुको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?