पर्साको ठोरीमा मात्र अढाई बिघामा गाँजा !

 काठमाडौं  । प्रहरीले २८ मंसिरमा पर्साको ठोरी गाउँपालिकाको विभिन्न ठाउँमा गरी झण्डै एक विघामा लगाइएको गाजा फाँड्यो । ठोरी गाउँपालिका ४ विजयबस्ती र निर्मलबस्ती क्षेत्रमा लगाइएको गाजाखेती फडानी गरेको प्रहरीले जनाएको छ ।

यसअघि २० मंसिरमा पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीकै विभिन्न स्थानमा रोपिएको झण्डै डेढ विगाहाको गाजा खेती प्रहरीले नष्ट गरेको थियो । ठोरी गाउँपालिका ४, विजयवस्तीमा विभिन्न व्यक्तिहरुले लगाएको अन्दाजी डेढ विघा (३० कठ्ठामा) लगाएको झण्डै २२ हजार बोट गाजा नष्ट गरिएको दावी प्रहरीको छ ।

दुई पटक गरेर प्रहरीले पर्साको ठोरी गाउँपालिका ४ क्षेत्रमा मात्रै अढाइ विघा जमिनमा लगाएको गाजा खेती नष्ट गरेको छ ।ठोरी गाउँपालिकाको ४ मा पर्ने जंगल र सीमा क्षेत्रमा गाजा खेती गरेको पाइएको छ । प्रहरीले ५ नम्बर कुना, फारलाइन, नयाँ बस्ती क्षेत्रमा पुगेर खोजी खोजी गाजा फाडेको थियो ।

स्थानीयले प्रहरीको आँखा छल्नका लागि सुर्ती, मकैको बीचमा, घर छेउको करेसाबारीमा बेरा लगाएर, जंगल छेउको अनकन्टार जमिनमा गाजा खेती गर्ने गरेको पाइएको छ । स–सानो परिमाणमा लगाइएको भए पनि ठाउँ–ठाउँको जम्मा गर्दा ठूलो परिमाणमा हुने भएकोले आर्थिक प्रलोभनमा परेर स्थानीय अवैध गाजा खेतीमा लागेको अनुमान गरिएको छ ।

ठोरीबाहेक पर्साको पटेर्वा सुगौली गाउँपालिकाकामा समेत गाजा खेती गरिन्छ । मकवानपुरबाट आउने गाजा नियन्त्रण नगरेका कारण पर्सामा फेरी मानिसहरु गाजा खेतीतर्फ उन्मुख भइरहेको कतिपयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मानबहादुर राई गाजा खेती भएको सूचना आउने वित्तिकै प्रहरी परिचालन गरेर नष्ट गरिरहेको बताउँछन् ।

‘घरको करेसाबारीमा ४०/५० बोट रोप्नु भनेको घरायसी प्रयोगका लागि पनि रोपेको हुन सक्छ, भारतमा मंहंगोमा बिक्री हुने र सीमा क्षेत्र पनि भएकोले कतिपयले व्यवसायिक खेती गरेको पनि देखिन्छ। सुर्ती खेतीको बीचमा पनि लगाएको पाइएको छ, अन्यबालीबाट भन्दा धेरै आम्दानी हुने भएकोले अवैध भए पनि जोखिमै मोलेर खेती गरिरहेको देखिन्छ’ उनले भने ।

  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?