३२ वर्षीय इन्जिनियरले हाँक्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना

भैरहवा – विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जाका लागि बिहान ८ बजेदेखि नै निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्यालयमा सर्वसाधारण जुट्न थाल्छन् । दैनिक २ सय ५० जनाको हाराहारी स्थानीय पुग्छन् ।

स्थानीयको चित्त बुझाएर पठाएपछि आयोजनाका ठेकेदार र परामर्शदाता कम्पनीसित समन्वय गर्नुपर्छ। विमानस्थल निर्माण चुस्त बनाउन दैनिक कर्मचारी र कामदार गरी ४ सयलाई परिचालन गर्नुपर्छ। कामको अनुगमन छँदै छ।

स्थानीय प्रशासन, तालुक मन्त्रालय र दातृ निकायसित छलफल र समन्वय। कार्यक्षेत्रमै टुंग्याउनुपर्ने काम पनि धेरै छन्। ती कामको व्यवस्थापन ३२ वर्षीय आयोजना प्रमुख प्रवेश अधिकारीले गरिरहेका छन्।

युवा हाकिमले राष्ट्रिय गौरवको आयोजनाको नेतृत्व सम्हालेको भने ४ महिना भयो। ३ महिना निमित्त प्रमुख थिए। १ महिनादेखि उनलाई आयोजना प्रमुख तोकिएको छ। विमानस्थलको अन्तिम र संवेदशील चरणको काम अहिले धमाधम चलिरहेको छ। दिनरात काम गर्नुपरिरहेको उनले बताए। उनी यति व्यस्त छन् कि आयोजना प्रमुखको कुर्सीमा बस्नसमेत भ्याउँदैनन्।

‘कुर्सीमा बसेर क्षमता विकास हुने होइन,’ उनले भने, ‘व्यक्तिले जिम्मेवारी पूरा गरी क्षमता देखाउन सक्नुपर्छ।’ आयोजना तोकिएको समयभित्र पूरा नभएकाले आलोचना भइरहेको थियो। दुई पटकसम्म म्याद थपियो। डेढ वर्ष धकेलिएको आयोजना पछिल्लोपटक थपिएको म्यादभित्र सम्पन्न गरी देखाउनु पर्ने चुनौती छ। कान्तिपुर दैनिका खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?