विदेशी कामदारको तलब २० प्रतिशत काट्ने मलेसियाको प्रस्ताव

काठमाडाैं । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले विदेशी कामदारको न्युनतम पारिश्रमिकको २० प्रतिशत कटौती गर्ने प्रस्ताव रोजगारदाता समक्ष राखेका छन् ।

यो प्रावधानले मलेसियामा कम्पनी छाडेर हिँड्ने समस्या समाधानमा सहयोग गर्ने विश्वास लिएको मन्त्री कुलासेगरनको भनाई छ । ‘गएको हप्ता यो प्रस्ताव राष्ट्रिय श्रम सल्लाहकार परिषदमा पठाएको छु, यसबारे सरोकारवालाकाबीच छलफल भइरहेको छ,’ उनले भनेका छन्, ‘यदि यो प्रस्ताव कार्यान्वयनमा आयो भने रोजगारदाता र कामदार दुवै पक्षलाई फाइदा हुनेछ ।’

कामदारहरूले कम्पनी छोड्ने क्रम बढेपछि मन्त्रालयले यस्तो प्रस्ताव ल्याएको मन्त्री एम कुलासेगरनले बताए । उनका अनुसार कटौती भएको रकम सामाजिक सुरक्षा संस्थामा जम्मा हुनेछ र भिसा सकिएर कामदार स्वदेश फर्किने बेलामा एकमुष्ट दिइनेछ ।

यसरी काटिएको रकम सामाजिक सुरक्षा संगठनमा जम्मा हुने र करार अवधि सकिएर फर्किँदा पाउने व्यवस्था गरिने उनले बताए । जापान र कोरियामा पनि यो व्यवस्था लागू भएको र कामदार कम्पनी छाडेर भाग्ने समस्या समाधानमा सफल भएको उदाहरण दिँदै उनले मलेसियाका पनि धेरैजसो रोजगादाताले यो प्रस्तावलाई स्वीकार गरेको बताए ।

कामदार काम छाडेर भागेको खण्डमा रोजगारदातालाई आर्थिक भारको जोखिमबाट रोक्न पनि दुवैको हित हुने गरी यस्तो प्रस्ताव अघि सारिएको उनकाे भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?