कांग्रेस महासमिति बैठक : विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं । काठमाडौमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी भएको छ ।

विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिनसम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको छैन् । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्ने प्रावधान छ ।

त्यसकारण महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको विधान मस्यौदा समितिले तयार पारेको प्रतिवेदन आजै बस्ने केन्द्रीय समितिले अनुमोदन गरेपछि छलफलका लागि महासमिति बैठकमा पेश गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

आइतबार सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पदाधिकारीका विषयमा सहमति जुटाएको छ । विधानलाई सहमतिमा टुंग्याउँन गठित समितिका सदस्यहरुको अबेरसम्म बसेको बैठकले एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, दुईजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष राख्ने सहमति जुटाएको हो ।

नेता रामचन्द्र पौडेल पक्षधरले पदाधिकारी सबै निर्वाचनमार्फत आउनुपर्ने अडान राखेको छ भने सभापति शेरबहादुर देउवा पक्षधरले एक-उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी ४ पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था राख्नुपर्ने पक्षमा देखिएको छ ।

‘केन्द्रीय समितिको बैठकले यो विषय टुंगो लगाएर महासमितिमा पेस गर्ने तयारी छ ।’ प्रवक्ता शर्माले भने, ‘विधानमा सहमति जुटेर आज साँझसम्म बैठकमा प्रस्तुत गरेपछि महासमिति सदस्यहरुलाई भोलि र पर्सि दुईदिन पूरै समय उपलब्ध गराउँछौं ।’

उनका अनुसार बैठकमा सहभागी महासमिति सदस्यहरुले दुई दिनसम्म विधानमा छलफल गर्नेछन् । महासमिति बैठक ४ गतेसम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?