सांसद रेशम चौधरीसहित २६ जनाको मुद्दा सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरीसहित २६ जनालाई विपक्षीको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ स्थगित भएको छ । 

टीकापुर घट्नासम्बन्धी मुद्दाको सुनुवाइ आज स्थगित भएको हो । सोमबारका लागि पेशी चढेको मुद्दा पक्षको कानून व्यावसायीबाट स्थगित गरिएको श्रोतले जनाएको छ । 

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ मा एक नाबालकसहित सात प्रहरीको हत्या भएको  मुद्दामा सांसद चौधरीसहित २६ जनालाई विपक्षी बनाईएको मुद्दाको आज सुनुवाइ हुने भएको थियो । 

ज्यान मुद्दा लागेकै कारण राजपा सांसद चौधरी हाल डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् भने चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छैनन् । यस्तै आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने दुई नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा छन् । राजपाको भने कैलाली घटनालाई राजनीतिकरुपमा हेरिनुपर्ने माग छ । त्यसैले सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएका छन् । तर, यो मुद्दा अदालतमा धेरै अगाडि देखि विचाराधीन रहेको थियो । 

कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ । गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले पुनः झिकाउने आदेश दिएको थियो । 

मानबहादुर बोहराको जाहेरीमा मुद्दा दर्ता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?