निर्मला बलात्कारपछि हत्या प्रकरण: प्रहरीले बुझायो सात सय पृष्ठको प्रतिवेदन

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याको विषयमा प्रहरीको भूमिकाबारे अध्ययन गर्न बनेको समितिले सात सय पृष्ठको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको छ । एआईजी धिरु बस्न्यातको नेतृत्व बनेको समितिले उक्त प्रतिवेदन बुझाएको हो ।

निर्मला हत्या प्रकरण झन् भन्दा झन् जटिल बन्दै गएपछि र प्रमाण मेटाउने कार्यमा प्रहरी नै सक्रिय भएको आरोप लागेपछि असोज १ गते प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरेको थियो । प्रहरी प्रधान कार्यालयले प्रतिवेदनका आधारमा आगामी कदम चाल्नेछ ।

समितिले निर्मला पन्त हराएपछि प्रहरीको भूमिका कस्तो रह्यो, प्रहरीको त्रुटि कहाँ देखियो लगायत प्रश्नको वरिपरि रहेर प्रतिवेदन तयार पारेको हो ।

समितिले प्रहरीको कल डिटेल र सोसियल साइटको गतिविधिका साथै दशैँअघि घटनाका बेला र त्यसपछि अनुसन्धानमा संग्लग्न सबैसँग बयान लिएर प्रतिवेदन तयार पारेको बताइएको छ ।

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाको निम्बुखेडास्थित उखुबारीमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले उक्त घटनामा प्रमाण नष्ट गराएको भन्दै चर्को विरोध भएपछि प्रहरी प्रधान कार्यालले अध्ययन गर्न समिति बनाएको थियो ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारवाही गर्न नसकेको भन्दै सरकारको व्यापक विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?