काँग्रेसलाई कसरी नम्बर वान बनाउने ? यसो भन्छन् महासमिति सदस्यहरु

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् ।
पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले कांग्रेसलाई अझैपनि पहिलो पार्टी बनाउन सकिने धारणा राखे । तर, त्यसको लागि नेताहरु एकजुट हुनुपर्ने उनको भनाई छ ।
नेता खतिवडाले नेतृत्वलाई अब नातावाद र दातावादबाट टाढा रहनुपर्ने सुझाव दिए । उनले भने,‘पार्टीभित्र अहिले नातावादभन्दापनि दातावाद हावी भयो । अहिलेपनि कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ ।’
नेताहरुले व्यक्तिलाई हेरेर विधान बनाउन नहुने उनको धारणा छ । उनले भने,‘समग्र कार्यकर्ताहरुलाई हेरेर विधान बनाउनुपर्छ । पार्टी जनताको हितमा कसरी उतार्न सकिन्छ भनेर बहस गर्नुपर्छ ।’ संविधानमै धर्मनिरपेक्षता लेखिएकोले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको खतिवडाले जोड दिए । उनले भने,‘कांग्रेसले अब आफ्ना मुद्दा जनताको बिचमा लैजानुपर्छ ।’
नेताहरुले हात मिलाउँदैमा पार्टी एक ढिक्का नहुने उनको तर्क छ । उनले भने,‘नेताहरुले हात मिलाउँदैमा पार्टी एक ढिक्का हुँदैन् । यसको लागि कार्यकर्ताको मन जित्नुपर्छ ।’
फरक प्रसँगमा उनले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘सरकार सबै हिसाबले असफल भएको छ । सरकार असक्षम छ ।’
सांसद निरु पालमाथि आक्रमण भएको तर अहिलेसम्म छानबिन समितिले संसदमा कुनैपनि जानकारी नगराएको भन्दै खतिवडाले यो घट्नालाई पनि सरकारको असक्षमतासँग जोडे । निर्मला पन्तको बलात्कारपछिको हत्या भएको यतिका दिन बितिसक्दापनि अहिलेसम्म सरकारले हत्यारा पत्ता लगाउन नसकेको उनको आरोप छ । उनले भने,‘दिनदाहाडै काठमाडौंमा पूर्वराजदुतको हत्या भएको छ । तर, अहिलेसम्म यो सरकारले हत्यारा पत्ता लगाउन सकेन ।’
अर्का महासमिति सदस्य एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिए । अब मुलुकमा समृद्धिको नेतृत्वपनि कांग्रेसले नै गर्ने उनको जिकिर छ । उनले भने,‘अब मुलुकलाई कम्युनिष्टविहीन बनाउनुपर्छ । त्यसको लागि कांग्रेस एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’
उनले ८७१ महासमिति सदस्यरुले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकोले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिए ।
फरक प्रसँगमा उनले सरकारले संविधानमाथि आक्रमण गरिरहेको आरोप लगाए । सरकार गठन भएको ९ महिना बितेको र यो अवधिमा महँगीपनि प्रत्येक महिना दोब्बर भएको उनको आरोप छ । बलात्कारीको हत्यारा संरक्षणमा सरकार आँफै नायकत्व गरिरहेको पनि उनले आक्रोश पोखे ।
महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाइ अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिए । संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको उनले सुनाए । नेतृत्वका कारण अहिले पार्टी कमजोर भएको उनको गुनासो छ ।
महासमिति सदस्य एवम् नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाले पार्टीलाई अब तल्लो स्तरबाटै शुद्धिकरण, सुदृढिकरण र एकतावद्ध बनाउनुपर्नेमा जोड दिईन् ।
उनले भनिन्,‘अहिले कम्युनिष्ट सरकारका कारण आम जनता निराश छन् । अब कांग्रेसले जनतालाई उत्साही बनाउनुपर्छ । त्यसको लागि हामीभित्रै आन्तरिक एकता हुनुपर्छ । यो महासमिति बैठकले हामीलाई त्यस दिशातर्फ अघि बढाउँछ ।’
पार्टीभित्र अझैपनि बेथितिहरु रहेको उल्लेख गर्दै सापकोटाले यो महासमिति बैठकले ती तमाम बेथितिहरुको अन्त्य गर्नुपर्ने धारणा राखिन् । नेपाल धार्मिक सहिष्णुता भएको मुलुक भएकोले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई छ ।
वर्तमान सरकार दुई तिहाई बहुमतको भएपनि यो ९ महिनामा सरकारले विकास, सुशासन र समृद्धि हाँसिल गर्न नसकेको उनले आरोप लगाईन् । उनले भनिन्,‘बरु, यो सरकार आएपछि मुलुकमा बलात्कार, हत्या, हिंसाका घट्ना बढेका छन् । भ्रष्टाचार मौलाएको छ ।’  कांग्रेस अहिले तीनै तहमा तहसनहस भएकोले सरकारको स्वेच्छचारी बढेको पनि उनको गुनासो छ ।
महासमिति सदस्य विष्णु धितालले कांग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने धारणा राखे । हिन्दूराष्ट्रको बारेमा जनमतसंग्रह गुर्नुपर्ने उनको माग छ । उनले भने,‘जनमतसंग्रहबाट आएको मतलाई हाम्रो पार्टीले सम्मान गर्नुपर्छ ।’
त्यस्तै उनले विधानमा अब पदाधिकारीको संख्या बढाउनुपर्नेमा जोड दिए । उनले सभापतिलाई हात बाँधेर काम गर्न नदिने वातारण बनाउन नहुनेपनि धारणा राखे । उनले भने,‘सभापतिलाई काम गर्न नदिनेगरि हात बाँध्न हुँदैन् । छेक्नुहुँदैन् । तल्लो तहदेखि केन्द्रसम्म सभापतिलाई काम गर्ने अवसर दिनुपर्छ ।’ उनले पार्टीलाई अब सामूहिक नेतृत्वमा लैजानुपर्नेपनि धारणा राखे ।
अर्का महासमिति सदस्य मोहम्मद ईशाद अन्सारीले मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्नेमा जोड दिए । मधेशमा कांग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा छलफल हुनुपर्ने उनको भनाई छ । मधेशको विकास र भलाई कांग्रेसले मात्रै गर्नसक्ने उनको जिकिर छ ।
प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न. ७ का संसदीय दलका नेता डा. रणबहादुर रावलले गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए । उनले भने,‘हामीबीच एकता आवश्यक छ । देशमा कांग्रेसको विकल्प छैन । देशको विकास गर्ने नै कांग्रेसले मात्रै हो ।’
उनले महासमिति बैठकले नयाँ रणनीति तय गर्नुपर्ने धारणा राखे । त्यस्तै उनले पार्टीभित्र अब हिन्दूराष्ट्रको पक्षमा उभिनेबारे बहस सुरु भैसकेकोपनि जानकारी दिए ।
अर्का महासमिति सदस्य लोकेश ढकालले कांग्रेस अब हिन्दूराष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राखे । उनले भने,‘कांग्रेसले अब आफूलाई वैचारिक रुमा करेक्शन गर्नुपर्छ ।’ बहुमत महासमिति सदस्यहरु हिन्दूराष्ट्रको पक्षमा उभिईसकेकोले अब कांग्रेस यसबाट ब्याक हुन नहुने उनको भनाई छ ।
फरक प्रसँगमा उनले सरकार छ कि छैन भन्नेबारे जनतालाई कुनै अनुभुति नभएको गुनासो पोखे । उनले भने,‘देश अहिले दयनीय अवस्थामा छ ।’
महासमिति सदस्य नगेन्द्र कुमालले कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाकोजस्तै हालत हुने जिकिर गरे । उनले भने,‘कांग्रेस लोकतन्त्रको हिमायती हो । कुनै धर्म विशेषलाई पक्ष बनाएर जानुहुँदैन् । हिन्दूराष्ट्र बनाएर गए कमल थापाकोजस्तै हालत हुन्छ ।’
वर्तमान सरकार सबै कुरामा असफल भैसकेको उनको आरोप छ । उनले भने,‘यो सरकार सबै समुदायको विरोधी हो । आदिवासी जनजातीको पनि विरोधी हो । अभिभावकहरुको पनि विरोधी हो । अशक्त तथा विरामीहरुको पनि विरोधी हो ।’
बलात्कारका घट्ना दिनप्रतिदिन बढिरहेको तर सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न बास्तविक अपराधीलाई पक्राउ गर्न नसकेकोमा कुमालले आक्रोश पोखे । उनले भने,‘यो सरकार महिलाहरुको पनि विराधी हो ।’ सरकार संघीयता असफल बनाउनतिर उद्धत रहेको उनले गम्भिर आरोप लगाए ।
पूर्व गृहराज्यमन्त्री एवम् महासमिति सदस्य रामकुमार चौधरीले कांग्रेसभित्र अहिले संकटको घडी देखिएको आरोप लगाए । उनले भने,‘केन्द्रिय कार्य समितिले महासमितिलाई बन्धक बनाउन खोजेको छ । यो महासमितिको अपमान हो ।’
कांंग्रेस अहिले कमजोर अवस्थामा रहेको सुनाउँदै उनले भने,‘जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर हुन्छ । अहिले धर्मको नाममा युद्ध हुन लागेको छ ।’
अहिले देखिका तमाम चूनौतिलाई सामना गर्नसक्ने तागद कांग्रेससँगैमात्रै रहेको उनको जिकिर छ । कांग्रेस कमजोर हुँदा अन्तर्राष्ट्रिय शक्तिहरु नेपालमा हाबी हुने गरेको पनि उनले गम्भिर आरोप लगाए । उनले वर्तमान पार्टी नेतृत्व भने वर्तमान समस्याको सामना गर्न असक्षम रहेको जिकिर गरे । उनले भने,‘हाम्रो पार्टी नेतृत्व अनुशासनविहीन भएको छ । हात उठाएर मात्रै एकता हुँदैन् ।’
पार्टीभित्र एकताको विकल्प भनेको महाधिवेशनमात्रै भएको उनको धारणा छ । उनले भने,‘पार्टीलाई प्राईभेट कम्पनी बनाउनुुहुँदैन् ।’
अर्का महासमिति सदस्य नन्दमणि राईले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको धारणा राखे । उनले अहिले हिन्दुराष्ट्र बनाउने कुरा बेमौसमको बाजाजस्तै भएको बताए । उनले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे ।
त्यस्तै उनले वर्तमान सरकारले दुई तिहाई बहुमतको अवमुल्यन गरिरहेको पनि आरोप लगाए । उनले भने,‘सरकार गैरजिम्मेवार बन्यो । वाहियात वाहियात काममा सरकारले आफूलाई संलग्न गराएको छ । सरकारले त बरु बोर्डर, १९५० को सन्धि, कालापानी र लिपुलेकको समस्या हल गर्नतिर समय दिनुपर्छ ।’
महासमिति सदस्य सिता देवकोटाले पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘अब व्यक्तिगत बहसलाई होईन, वैचारिक बहसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।’
उनले संविधान जारी गर्दा नै हिन्दूराष्ट्र बनाउनुपर्नेमा पार्टी चुकेको गुनासो पोखिन् । उनले कांग्रेसको समाजवाद र कम्युनिष्टले भन्ने समाजवादमा फरक रहेकोले जनतामा यो भ्रम चिर्नुपर्नेमा जोड दिईन् ।
महासमिति सदस्य मोहम्मद सिद्दिकीले अब पार्टीभित्रै एक आपसमा लडेर बस्न नहुने धारणा राखे । सबै मिलेर अघि बढे कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी छ । उनले भने,‘कांग्रेस कमजोर छैन् । हामी मिलेर गयौं भने कम्युनिष्टलाई धुल चटाईदिन्छौं ।’
उनले आफूहरुले धर्मनिरपेक्षताको सम्मान गर्ने बताउँदै तर यसको आडमा कसैले गलत उपयोग गरे सहेर नबस्ने चेतावनी दिए । उनले भने,‘हामी फोरम लोकतान्त्रिकबाट कांग्रेसमा ताली बजाउनको लागि मात्रै आएका छैनौं । हामीलाई जिम्मेवारी दिनुपर्छ । भुमिका दिनुपर्छ । फुर्सद भयो भने एक आपसमा विवाद हुन्छ ।’
त्यस्तै अर्का सदस्य सुर्यदेव दाश उराउले केन्द्रिय सदस्य केन्द्रबाट मनोनित नगरी वडास्तरबाटै आउनुपर्नेमा जोड दिए । उनले विधानमा उल्लेख भएको समावेशी–समानुपातिकको अहिले गलत उपयोग भैरहेकोमा ध्यानाकार्षण गराए । उनले भने,‘आउँदा दिनहरुमा तराईका आदिवासी, दलितहरुलाई पनि यसमा समेट्नुपर्छ ।’
त्यस्तै उनले एक व्यक्ति एक पद प्रणालीमा जानुपर्ने धारणा राखे । उनले मुलुक धार्मिक स्वतन्त्रता हुनुपर्ने बताउँदै पार्टीले पनि यसबारेमा गम्भिर बन्नुपर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?