नेकपाको स्थायी समिति बैठकमा नेतृत्वको चर्काे आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा नेताहरुले नेतृत्वको चर्काे आलोचना गरेका छन् । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाइ भएकोमा पार्टी नेतृत्वको आलोचना गरे । उनीहरुले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै गुनासो समेत गरेको हुन् । 

बैठकमा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम आज पनि जारी रहेको छ । सो क्रममा उनीहरुले पार्टीलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन् ।

सरकार र पार्टीको हालसम्मको काम कारबाहीबारे नेताहरुले आ-आफ्नो धारणा राखिरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मंगलबारको बैठकमा ८ जना नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

४५ सदस्यीय नेकपा स्थायी समितिमा सोमबार १० जना र मंगलबार ८ जना गरी १८ जना नेताहरु राखिसकेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बोलेकाले बैठक अझै केही दिन लम्बिन सक्ने प्रवक्ता श्रेष्ठले बताए ।

शनिबारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा सचिवालय सदस्य बामदेव गौतमले आफूप्रति पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरेका थिए ।

यसैबीच स्थायी समिति सदस्य भीम रावलले समितिको बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका छन् । १४ पृष्ठ लामो फरक दस्तावेजमा पार्टी संगठन निर्माण र नौ महिना अघि गठन भएको सरकारका समीक्षासहितका विषयलाई समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?