महानगरपालिकाले विनियोजन गरेको बजेटको कामको अनुगमन नगरवासीले गर्नुपर्छ : रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफूहरु महानगरवासीको चाहना बमोजिम नै अगाडि बढिरहेको दाबी गरेका छन् । 

बुधवार भरतपुर २० मा भएको आर्थिक वर्ष २०७५-०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो दाबी गरेका हुन् । 

प्रमुख दाहालले वडा र महानगरपालिकाले विनियोजन गरेको बजेटको कामको अनुगमन र खबरदारी नगरवासीले गर्नुपर्ने बताएका छन् । प्रमुख दाहालले जनप्रतिनिधि र कर्मचारीहरूबाट कुनै पनि प्रकारको अनियमितता, ढिलासुस्ती वा सेवा प्रवाहमा गुनासो भए सोझै आफूलाई जानकारी गराउन नगरवासीहरूलाई आग्रह गरे । 

दाहालले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै समग्र क्षेत्रको समुचित विकासले मात्र सुखी नेपाली समृद्ध नेपाल भन्ने राष्ट्रिय नारा साकार पार्न सकिने बताए । उनले आफूहरु पनि त्यसै बमोजिम काममा लागिरहेको बताए । उनले विषयगत सरकारी कार्यलयका प्रमुखहरूलाई महानगरपालिकाभित्र सञ्चालनमा आएका कार्यक्रमहरू समयमै गुणस्तरीय रूपमा गुनासो नआउने गरी सम्पन्न गर्न निर्देशन समेत दिए । 
महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले कार्यक्रमको औचित्य र यसले पार्ने प्रभावको बारेमा जानकारी दिँदै यस्ता कार्यक्रमहरूले महानगर र महानगरवासीलाई एक आपसमा जोड्ने बताए । उनले महानगरको सेवा प्रवाहको विषयमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । 

कार्यक्रममा विषयगत सरकारी कार्यालयहरूसँग सम्बन्धित जिज्ञासहरूको समाधान विषयगत कार्यालयका प्रमुखहरू तथा वडागत जिज्ञासहरूको समाधान वडा अध्यक्षहरूले गरेका थिए । महानगरपालिकाको समग्र शान्ति सुरक्षाको अवस्था र भावी योजनाका बारेमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र प्रहरी प्रमुख सुशीलसिंह राठोरले जानकारी गराएका थिए । 

चितवन उद्योेग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले महानगरपालिकालाई दिगो विकासको पक्षमा योजनाहरू अगाडि बढाउन आग्रह गर्दै ४० हजार विदेशियका नगरवासीहरूलाई फर्काउने योजनाहरू ल्याउन आग्रह गरे । कार्यक्रममा तिर्थ रेग्मी, चिन्तामणी पौडेल, गणेश भण्डारी, रामकृष्ण अर्याल, रोशनप्रसाद काफ्ले, सुमित्रा श्रेष्ठ, प्रविण ढकाल, हरिकला सुवेदी लगायत ९० जना सहभागीले वडाको विकास निर्माण, सरसफाइ, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, कृषि मल बीउ उचित बजारको व्यवस्था, पारदर्शी सेवा प्रवाह तथा गुणस्तरीय विकास निर्माणको विषयमा प्रश्न राखेका थिए । 

नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा भरतपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रम महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य राखेका थिए । वडा कार्यालय तथा महानगरपालिकामा गरिएको सर्वेक्षण प्रतिवेदन पत्रकार चिन्तामणी पौडेलले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सय जना सेवाग्राहीको भनाइ समेटिएकोमा ७२ जनाले महानगरपालिकाले सकारात्मक कार्य सञ्चालन गरेको बताएका थिए भने केहीले ठिकै र बाँकीले ढिलासुस्ती भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?