चोरी र लुटपाटमा संलग्न ४ महिलासहित ७७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ  । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो । 

काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट पाँच लाख छयानब्वे हजार रुपैयाँसमेत बरामद गरेको प्रहरीले जानकारी दिएका छन् । 

यात्रुको भिडभाड हुने समयमा पाकेटमार चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पाकेटमारहरु पनि आफ्ने छुटै समूह बनाएरर कोड ल्याङग्वेज प्रयोग गर्ने गरेको प्रहरीहरुको भनाई छ । 

उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरीले जानकारी दिए ।

राजधानीमा मात्र करिव ५ सय पकेटमारहरु रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?