आजदेखि कर्मचारी समायोजनका लागि आवेदन खुला

काठमाडौं । सरकारले कर्मचारी समायोजनका लागि आजदेखि आवेदन खुल्ला गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै कर्मचारी समायोजनका लागि आजदेखि आवेदन खुल्ला गरेको हो । 

सरकारले छुट्टाछुट्टै आवेदन दिन मिल्ने गरी चारवटा सूचना मन्त्रालयको वेवसाइटमा प्रकाशित गरेको छ । 

मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका तर, नयाँ संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि छुट्टाछुट्टै आवेदन गर्न मिल्ने गरी चारवटा सूचना मन्त्रालयको वेवसाइटमा प्रकाशित गरेको बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

त्यस्तै सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ ।

जस अनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम भएको छ ।

यही संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएने मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?