श्रम स्वीकृतिका लागि अब काठमाडौं धाउनु नपर्ने, प्रदेशबाटै सेवा

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृतिलगायतका कामका लागि अब काठमाडौं धाउनु नपर्ने भएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई सहज बनाउन सरकारले आइतबार (भोलि)देखि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्न लागेको हो । 

अब देशभरका ११ वटा कार्यालय मार्फत् वैदेशिक रोजगार सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् । अहिलेसम्म आवश्यक प्रकृया पूरा गर्न राजधानी काठमाडौं नै आउनुपर्ने बाध्यता छ । 

वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेकाे विभिन्न तथ्याङ्कले देखाएको छ । तर सेवा काठमाडौं केन्द्रीत हुँदा समस्या हुने गरेको थियो । 

श्रम स्वीकृतिको काम अब देशमा विभिन्न स्थानमा रहेका कार्यालयहरुबाट हुने भएको हो । सरकारले झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका कार्यालयहरुबाट सेवा उपलब्ध गराउँनेछ । 

तिनै कार्यालयहरुबाट विमानस्थल जानु भन्दा अगाडि लिनु पर्ने श्रम स्टिकर समेत वितरण हुनेछ । अब विमान चढ्न मात्र काठमाडौं आए हुन्छ । श्रम स्वीकृतिको प्रकृया व्यक्तिगत रूपमा र म्यानपावर कम्पनीका शाखाहरूले पनि गर्न सक्ने छन् । 

पहिलो चरणमा आइतबार प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने व्यवस्था अन्तिम चरणमा पुर्यायाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?