प्रदेश २ मा नागरिकता विधेयक छिटो पारित प्रदेश न्यायाधीवक्ता झाको अनुरोध

काठमाडौं । प्रदेश २ सरकारले नागरिकता विधेयक छिटो पारित गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ । 

प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राज्य व्यवस्था समितिलाई पत्र लेख्दै नागरिकता नभएका कारण प्रदेशमा धेरै विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा भर्ना गर्न समस्या भइरहेको भन्दै नागरिकता विधेयक छिटो पारित गर्न अनुरोध गरेको हो । 

‘नागरिकता विधेयकलाई धेरै लम्ब्याउनुहुँदैन, नागरिकता नभएका कारण धेरै विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा भर्नासँगै थुप्रै विषयमा समस्या भइरहेको छ’ पत्रमा लेखिएको छ । 

प्रदेश २ मा झण्डै एक लाखको हाराहारीमा जन्मसिद्ध नागरिकका सन्तान भएको विवरण दिँदै नागरिकता नभएका कारण उनीहरु उच्च शिक्षाका लागि भर्ना हुन नपाएको जनाएको छ ।

सर्वोच्च अदालत र उच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन धेरै आदेश गरेको भए पनि प्रमुख जिल्ला अधिकारीहरुले अदालतको परमादेश नमानेको पनि मुख्य न्यायाधीवक्ता झाले व्यवस्था समितिलाई लेखेको पत्रमा बताइएको छ ।

प्रदेशसभा २ ले पनि नागरिकसम्बन्धी विधेयक छिटो पारित गर्न सुझाव प्रस्ताव पारित गरेको पनि मुख्य न्यायाधीवक्ता झाले जानकारी गराएका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?