विश्वको उत्कृष्ट गन्तव्यमा सूचीकृत नाम्जेमा महोत्सव

काठमाडौं । विश्वका १२ उत्कृष्ट गन्तव्यमा सूचीकृत धनकुटाको नाम्जेमा पहिलो पटक माघे संक्रान्ति महोत्सव हुने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले गरेको सर्वेक्षणमा नाम्जे विश्वका १२ उत्कृष्ट गन्तव्यको सूचीमा छ । साँगुरीगढी गाउँपालिका-६ मा रहेको नाम्जेमा पुस ३० देखि माघ २ सम्म महोत्सव हुने भएको हो ।

स्थानीय संस्कृतिको संरक्षण गर्दै नाम्जे वरपरका आत्मा बस्ने घर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङडाँडा, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव मन्दिर, नमस्ते झरना, ध्वजेडाँडा, ओख्रे भ्यु टावर, साँगुरीगढी आदिको प्रचार र प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सव आयोजक समितिका सचिव अशोककुमार मगरका अनुसार साँगुरीगढी गाउँपालिका र स्थानीयस्तरमा सञ्चालित १३ संघसंस्थाको संयुक्त आयोजनामा महोत्सवको पहिलो दिन स्थानीय स्थानीय मगर समुदायको हुर्रा नाच प्रदर्शन हुने तालिका छ । 

दोस्रो र तेस्रो दिन क्रमशः राई जातिको साकेला नाच र याम्फू राईको ढोल नाचजस्ता सांस्कृतिक कार्यक्रम हुने मुल आयोजक समितिका अध्यक्ष अनिलकुमार राना मगरले जानकारी दिए । 

महोत्सवमा विभिन्न जातिका मौलिक परिकारका २० वटा स्टल रहने र हरेक दिन सांस्कृतिक कार्यक्रम हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?