मोटरबाटो पुगेपछि अस्ताएको ‘ट्रान्जिट प्वाइन्ट’ रबुवा, जुन बजार ताल बनेर बिलाउँदैछ

काठमाडौं । ओखलढुंगाको सदरमुकामबाट झण्डै दुई घण्टा हिँडेर पुगिन्छ रबुवा । काठमाडौंबाट त्यस्तै बाह्र घण्टा लाग्छ ।

एउटा सानो चिटिक्कको बजार । बढीमा डेढ दर्जन घर । दूधकोशीको किनारमा थपक्क बसेको यो सानो बजार पूर्वका तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको टर्निङ प्वाइन्ट थियो कुनै बेला । अहिले भने कच्ची बाटाहरू पहाडका काख र जंगल छिचोल्दै प्रायः गाउँ पुगेपछि रबुवा बजार केही सुस्ताएको छ ।

स्थानीयहरू भन्छन्, ‘केही वर्षअघि तपाईं आउनुभएको भए कहाँ यसरी बोल्ने फुर्सद हुन्थ्यो र? खाना खान पनि भ्याइँदैनथ्यो, त्यही भएर त अहिले ग्यास्ट्रिक बोक्नुप–यो ।’

उनीहरूका अनुसार यो बजारमा दश वर्षअघिसम्म पनि मान्छेको अचाक्ली भीड हुने गर्थ्यो । दूधकोशीको बगरमा सामान बोकेर आएका ढाक्रेहरू लस्करै सुत्थे । रबुवाका व्यापारीसँग बोल्ने फुर्सद हुँदैनथ्यो । टाढा–टाढाका विकट गाउँबाट मान्छेहरू पूरै दिन हिँडेर सामान किन्न आउँथे । यसरी भनौँ, सोलुखुम्बुको नेचाबजारसम्म यही बजारले धानेको थियो ।

तस्वीरः अर्घेलो थापा

जब ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जिल्लाहरू मोटरबाटोले जोडिए, त्यसपछि यहाँको चहलपहल सुक्दै गयो । मान्छेहरू फुर्सदिला बन्न थाले । दूधकोशीको काखमा बसेको यो बजारलाई मोटरबाटोका कारण सुकाएको छ । छेउमै बगिरहेको चिसो दूधकोशीको पानीले पनि बजारलाई भिजाउन सकेको छैन । तर, त्यही दूधकोशीले माछा भने रबुवा बजारलाई दिनैपिच्छे खुवाएको छ ।

यो बजारमा तरकारी कम, माछा ज्यादा पाइन्छ भन्दा फरक पर्दैन । माथिल्लो गाउँ (लामीडाँडा र वरपर)का बालबालिकाहरू दूधकोशीमा झरेर माछा मार्छन् । रबुवाका होटलमा बेच्छन् । र, उतैका स्कूल जान्छन् ।

वर्षमा दुई दिन माघे सक्रान्ति र एकादशीमा ठूलो मेला लाग्छ यहाँ । सोही मेलाको व्यापारले रबुवाका व्यापारीलाई वर्षभरि खान पुग्छ । कुनै समय त्यो मेलामै भेट भएर कति जोडीले त बिहे नै गर्ने गर्थे । स्थानीयहरू गफ गर्छन्, ‘कसैको बिहे गर्नुप–यो भने यही मेलामा आउँथे, अहिले पो मोबाइलको विकास भयो, हात–हातमा मोबाइल पुगे, कुरा गर्न सजिलो भयो ।’

रबुवा बजारको छेउबाट बगेको दूधकोशी नदी । तस्वीर: अर्घेलो थापा

यद्यपि रबुवा बजारमा भने अहिलेका दिनमा पनि फोनले काम गर्दैन । यहाँ नेपाल टेलिकम र एनसेल दुवैका सिमकार्डले काम गर्दैनन् । फोन गर्नैप–यो भने बजारभन्दा केही पर पुग्नुपर्छ । ताकि, फोनले नेटवर्क भेटोस् ।

यो सबै दैनिकी अबका केही वर्षमा पूरै फेरिँदैछ । किनकि, रबुवा बजार डुब्दैछ । पूरै ताल बन्नेछ । यहाँ बन्न लागेको ठूलो जलाशयको पिँधमा पर्नेछ रबुवा । जुन तालमा वरपरका स-साना पहाड पनि ढाकिनेछन् ।

सरकारले निर्माण गर्न लागेको आठ सय मेगावाटको जलाशययुक्त दुधकोशी जलविद्युत परियोजना बन्ने हल्ला चलेपछि यहाँका स्थानीयवासीमा निराशा छाएको छ । तर, उचित मुआब्जा पाउने हल्लाले केही सहज पनि बनाइदिएको छ । वर्षौं पुरानो यहाँको अस्तित्व अबको केही वर्षमा मेटिँदैछ काम सकियो भने ।

रबुवावासीमध्ये केही त यो बजार छोडेर जानुपर्दा खुशी पनि छन् । किनकि, यो बजारमा पहिलेजस्तो व्यापार हुन छोडेको दशक बित्यो । अझै पनि मोबाइलले नेटवर्क दिँदैन । पहिलेजस्तो होटलमा बास बस्ने बटुवाहरू पनि अहिले आउँदैनन् । अर्कातिर यो बजारमा स्कूल पनि छैनन् । स्कूल यहाँबाट घण्टौँ टाढा पर्छ, लामीडाँडामा ।

चटक्कै सुक्छ कि, झैँ भएको रबुवा बजारमा पछिल्ला केही वर्षयता फेरि चहलपहल भएको छ । यतिबेला यहाँ चहलपहल गराइदिने भने अरुभन्दा पनि जलविद्युत परियोजनासँग सम्बन्धित व्यक्तिहरू जाँदा हो । कोही न कोही कुनै न कुनै कामले पुगिरहेका हुन्छन् यहाँ । यहाँ बसेर बसेर परियोजनाको अध्ययन गर्न केही सहज पनि छ । किनकि, यो एउटा राम्रो ‘ट्रान्जिट प्वाइन्ट’ हो, जहाँ बिजुली र राम्रा होटल पनि छन् ।

रबुवा बजारमा रहेको यो पुल, जुन पुलले ओखलढुंगा र सोलुखुम्बु जोडेको छ । तस्वीरः अर्घेलो थापा

आफ्नो पूरै जीवन यहीँ रबुवामा बिताएका लीला श्रेष्ठ सुनाउँछन् – पहिले पहिले यहाँ स–साना झुप्राहरू थिए । यहाँ डुङ्गाहरू पनि चल्थे । झोलुङगे पुल बनेपछि भने ती डुङ्गाहरू विस्तापित भए ।

उनका अनुसार यहाँ पुल बनेको वि.सं. २०२० सालतिर हो । यो पुलले दूधकोशीले छुट्याएका दुई जिल्ला सोलुखुम्बु र ओखलढुंगालाई मात्र जोड्दैन । यहाँका आम मानिसको जीवन निकै सहज बनाएको छ, पहिलेदेखि नै । पहिले यो पुल यस क्षेत्रका स्थानीयका लागि अन्तिम मात्र विकल्प थियो नदी तर्न । शायद यही पुलका कारण हुनुपर्छ, रबुवा बजार पनि मौलाएको थियो कुनै समय ।

लीला श्रेष्ठ सम्झिन्छन्, ‘यहाँ माझीहरू थिए रे!, बस्नका लागि पाटी पनि थिए रे !’

अहिले ती पाटीहरू भत्किसकेका छन् । रबुवामा झुप्रो थिए । अहिले पूरै घर ठूल्ठूला छन् सलक्क मिलेका । रबुवा, सोलु, नेचा, भालडाँडा, मगरगाउँ, ढुंगाना गाउँ लगायतका क्षेत्रका लागि यो एउटा गन्तव्य थियो । कटारी जाने बाटो पनि यही हुन्थ्यो । नुनको भारी बोक्नेहरूको लस्कर हुन्थ्यो । उनी स्मरण गर्छन्, ‘यहाँ दिनको प्रन्ध सयभन्दा बढी मान्छेहरू ओहोरदोहोर गर्थे, नुनको भारी पेटीभरि हुन्थ्यो ।’

यो समय पचास वर्ष पुरानो होइन । जम्मा पाँच/सात वर्ष पुरानो हो । गाउँगाउँमा कच्ची भएपनि बाटो जोडिएपछि भने रबुवा सुक्दै गयो ।

सोलुखुम्बु, नेचा बजारका सुरेश जमकट्टेलले थप्छन्, ‘दूधकोशी बगरसम्म मान्छेहरू लस्करै सुतिरहेका हुन्थे । खाना पकाएर खान्थे । ढाक्रेहरूको लामै लस्कर हुन्थ्यो ।’

जमाना यस्तो पनि थियो – दुई÷तीनसय मान्छेले चामल बोकेर रबुवा ल्याउँथे । तर, ती भरियाले बोकेको चामल पसलमा आइसकेपछि पाइँदैन भनेर बाटोमै लुछाचुँडी हुन्थ्यो ।

पहिले रबुवामा उदयपुरको कटारीबाट बोकेर सामान ल्याउनुपर्थ्यो । पछि भने भदौरेबाट बोकेर ल्याउनुपथ्र्यो । पूरै दुई दिन भारी बोक्नुपर्थ्यो रबुवा आइपुग्न ।

यद्यपि अहिले बाटोले केही सहज पक्कै बनाइदिएको छ तर मान्छको दुःख जस्ताको तस्तै छन् । दैनिकीमा खासै फरक परेको छैन ।

अहिले पनि राम्रोसँग फोनको काम नगर्ने यी क्षेत्रमा केही वर्षअघिसम्म चिठीको चलन थियो । 

फोन लाग्ने कुरै भएन । तर, बजारमा बिजुली छ । प्रायः घरमा टेलभिजन जोडिएका छन् ।

रबुवा बजारका घरहरू । तस्वीरः अर्घेलो थापा

रबुवा बजारका व्यापारीलाई गाउँगाउँमा बाटोघाटो पुग्दा घाटा भएको व्यापारीहरू घुमाउरो पारामा स्वीकार्छन् । त्यतिबेला दिनको ३ लाखसम्म कमाएका व्यापारीले अहिले पनि ४०/५० हजार कमाउने गरेको उनीहरू बताउँछन् ।

वरपरका गाउँलेका लागि रबुवा बजार ठूलो बजार हो । उनीहरूले यहाँका मान्छेलाई आफ्नो दैनिकीभन्दा धेरै सम्पन्न देख्छन् ।

रबुवामा स्कूल छैन । यही स्कूल नहुँदा यहाँका स्थानीयले विद्यार्थीलाई शिक्षाका लागि बाहिर पठाउनुपर्ने वाध्यता छ ।

‘यहाँ त्यही व्यापार हुन्छ भन्ने त हो, नत्र रबुवामा त्यस्तो के नै छ र, आफ्ना बच्चाहरूसँग पनि बस्न पाइँदैन, यहाँबाट स्कूल टाढा छ, बच्चा जान सक्दैनन्,’ रबुवा बजारमा पसल चलाउँदै आएकी प्रतिमा जोशी सुनाउँछिन्, ‘स्कूल पनि छैन, नेटवर्कले पनि काम गर्दैन, तर लामो समय बसेर होला, यो ठाउँको माया त लाग्छ नि ।’

सत्र वर्षअघि उनी लामीडाँडाबाट कहिलेकाहीँ रबुवा घुम्न आउँथिन् प्रतिमा । गाउँमा स्कूल पनि थियो । बिहे गरेपछि उनको दैनिकी रबुवामै बित्न थाल्यो । यतैकी भइन् उनी । ‘पहिले पहिले त कस्तो खल्लो लाग्थ्यो, पछि रमाइलो लाग्न थाल्यो, यहाँ व्यापार पनि राम्रो हुने रैछ ।’

सत्र वर्षअघिको कुरा उनले सम्झिइन् ।

अहिले भने यहाँका व्यापारीसँग बोल्ने फुर्सद छ ।

अर्की व्यापारी लक्ष्मी जोशीले पुस्तौँदेखि व्यापार गर्दै आएको यो ठाउँमा आफ्नो विगतको याद रहेको बताउँछिन् ।

‘चालीस वर्षदेखि यहाँ व्यापार गर्दै आइरहेकी छु, छोड्न पर्दा दुःख त लागिहाल्छ, तर विकास हुने कुरामा हामीले दुःख मान्ने कुरा पनि भएन, बाटो जोडिएपछि हाम्रो व्यापार खस्केकै हो, पहिले तीन जिल्ला जोड्ने बजार यही थियो, यहाँ त इटहरी, नारायणघाटमा जस्तो व्यापार पो हुन्थ्यो त ।’, उनी सुनाउँछिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?