कपाल मुण्डन गरि सांसद उषाकला राई किरियापुत्री बसिन

मोरङ । प्रदेश नम्बर १ की सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरियामा बसेकी छिन् ।

सांसद राईकी आमा लक्ष्मी राईको बुधवार ७५ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा निधन भएको थियो ।  लक्ष्मी निमोनियाबाट ग्रसित थिइन् । 

आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।

सांसद राईले कपाल मुण्डन गरेर किरियापुत्री बसेकी छन् । 

उषाका दाजुभाइ छैनन् ।

आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, राईले आफैं किरियापुत्री बस्ने निर्णय लिएकी हुन् ।

सांसद राईका पति पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले काजकिरिया गर्ने व्यक्तिलाई किरियापुत्री शब्द प्रयोग गर्ने गरिएको भएपनि छोरा बस्ने प्रचलन रहेको उल्लेख गर्दै उषाकला राईले किरियापुत्री शब्दको वास्तविक अर्थ दिएको उल्लेख गरेका छन् ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै सांसद तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?