अन्ततः विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं । साझा पार्टी र विवेकशील पार्टी एकता भएको १७ महिनामै ‘विवेकशील साझा पार्टी’ फुटेको छ । संयोजक उज्ज्वल थापा पक्ष र रविन्द्र मिश्र पक्षबीच विवेकशील साझामा केही समयदेखि खटपट थियो ।

संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता दिएका छन् । उनले दिएको दर्तासँगै पार्टी विभाजन भएको हो । संयोजक थापाको पक्षमा रहेका १६ केन्द्रीय सदस्यसहितको टोलीले आयोगमा निवेदन दिएका हुन् ।

विवेकशीलका एक नेताले आफूहरु नयाँ पार्टी दर्ता गर्न लागेको बताए । नेता पुकार बलमे आफ्नो पार्टीमा राजनीतिक स्वच्छतामा आँच आउने देखेकाले नयाँ पार्टी खोल्न लागेको बताए ।

पार्टीभित्रको असन्तुष्ट पक्षले नेतृत्वलाई विधानविपरीत काम गरेको आरोप लगाएको थियो । यस्तै नेतृत्वले केन्द्रीय सदस्य पनि आफूले चिनेका नजिककालाई लिएर बनाएको र परम्परागत राजनैतिक दलकै सिको गरेको आरोप लगाएको छ ।

काठमाडौंबाट मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले संयोजक थापालाई साथ दिएकी छिन् । विवेकशील पार्टी र साझा पार्टी बीच वि.सं. २०७४ साउन ११ गते पार्टी एकता भएको थियो । एकतापछि संयोजकमा उज्जवल थापा र रविन्द्र मिश्र सहसंयोजक रहेका थिए । बैठकको अध्यक्षता भने रविन्द्र मिश्रले गर्ने सहमति भएको थियो ।

थापा समूहमा रञ्जु दर्शना, साधना राई, सुबुना बस्नेत, अजिता राई, अुनषा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, पुकार बम, ज्ञानेन्द्र निरौल, विराजभक्तम श्रेष्ठ, अर्जुन सिंह ठकुरी, आशुतोष तिवारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?