विद्यालयमा योगसँगै कक्षा, झैझगडा स्वात्तै घट्यो

रामेछाप — ‘शान्त हुनुस्,’ कक्षाकोठामा माइकबाट निर्देशन आउँछ, ‘अब योग सुरु हुँदै छ ।’ नियन्त्रण कक्षबाट शिक्षकले सीसी क्यामराले २३ वटै कक्षाकोठा नियाल्छन् । विद्यार्थी र शिक्षक जब ध्यानपूर्वक शान्त भएर बस्छन्, कन्ट्रोल कक्षबाट मधुरो संगीत पठाइन्छ ।

लगातार ५ मिनेट सबै कक्षाकोठाका विद्यार्थी र शिक्षक आँखा चिम्लिएर ध्यानमा बस्छन् । ‘मेडिटेसन पिरियड’ सकिएपछि शिक्षकले माइकबाट शुभकामना दिन्छन्, ‘आजको दिन सबैको सुखमय रहोस्, राम्रोसँग अध्ययन गर्नुहोला ।’

मध्याह्नको छुट्टीपछि पनि योग दोहोरिन्छ । घण्टी लाग्नेबित्तिकै त्यसैगरी शिक्षकले सबै कक्षामा ध्वनि पठाउँछन् र भन्छन्, ‘शान्त हुनुहोला ।’ अनि मधुरो संगीत बजाएर ५ मिनेट ध्यान गराउँछन् ।

रामेछापको सदरमुकामस्थित मन्थली माविमा ध्यान हुन थालेको एक वर्ष भएको छ । ‘यसले अनुशासन र नैतिक शिक्षामा वृद्धि गराएको छ,’ शिक्षक चन्द्रसिं धामीले भने, ‘ध्यानले विद्यालय प्रशासनको काम धेरै घटाएको र विद्यार्थीलाई नियमित विद्यालयमा आउने दरमा सुधार ल्याएको छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
धामीका अनुसार पहिले विद्यार्थीबीच दैनिक दुई चार झगडा मिलाउनुपथ्र्यो । ध्यान गराउन थालेपछि झैझगडा स्वात्तै घटेको उनको अनुभव छ । ‘अहिले वर्षको एकाधभन्दा बढी झगडाका विषय विद्यालय प्रशासनले मिलाउनुपरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?