खटाएको क्षेत्रमा कर्मचारी नगए सरकार चुप लागेर बस्दैन : मन्त्री पण्डित

काठमाडौं । सरकारले कर्मचारी समायोनपछि कार्यक्षेत्रमा नजाने कर्मचारीलाई तत्काल बिदा दिने बताएको छ । 

आइतवार पत्रकारसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको क्षेत्रमा कर्मचारी नगए सरकार चुप लागेर नबस्ने बताए । 

अनलाईन फारममा उल्लेख गरेअनुसार नै कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने मन्त्री पण्डितले बताए । 

त्यस्तै स्थानीय तहमा समायोजन हुन चाहाने कर्मचारीका लागि वरिष्ठता, रोजेको स्थान र घरपायक क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था अध्यादेशमै रहेकाले त्यसमा एक इञ्चपनि तलमाथि हुन नदिने प्रतिवद्धता उनले व्यक्त गरे ।

केन्द्र, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजनका लागि अध्यादेश जारी भइसकेको अवस्थामा अधिकांश कर्मचारीले समायोजनमा जाने इच्छा देखाएको उनको भनाइ छ । 

केन्द्रका ४५ हजार बाहेक ६० हजार कर्मचारीले अनलाईन फारम भरिसकेको छन् । 

बाँकी १८ हजार कर्मचारीले यसैसाता भित्र फारम भरिसक्ने विश्वास उनको छ । 

सरकारले कायम कर्मचारीमध्ये ४५ हजारलाई केन्द्र, २१ हजारलाई प्रदेश र ५७ हजारलाई स्थानीय तहमा समायोजन गर्ने तयारीमा सरकार रहेको मन्त्री पण्डित बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?