डा. केसीसँग भएको सम्झौता हुबहु कार्यान्वयन नगरे प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : पूर्व अध्यक्ष डा. केसी

काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजिनामा दिनुपर्ने माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘हिजो सरकारले लम्पसार परेर सम्झौता गर्यो, तर आज आएर सम्झौता कार्यान्वयन गरेन । नैतिकताका आधारमा पनि यो सरकारले राजिनामा दिनुपर्छ ।’

दुई तिहाई बहुमतको सरकारले केसीका सबै माग पूरा गर्छौं भनेर सम्झौता गरेको उनले सुनाए । उनले भने,‘दुई तिहाईको सरकार भएको नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले हामी बलियो सरकार हौं । हामी उहाँका सबै मागहरु पूरा गर्छौं भन्नुभयो । तर, आज ६ महिना नबित्दै डाक्टर केसीले अनशन थाल्नुभयो । हिजै यो सरकारले यी–यी मागहरु पुरा गर्न सक्छौं । यी–यी मागहरु पूरा गर्न सक्दैनौं भनेर भन्नुपर्दथ्यो ।’

केसीले हिजो गोविन्द केसीसँग लम्पसार परेर सम्झौता गर्ने वर्तमान सरकारले आज आएर केसीका मागहरु समयसापेक्ष छैनन् भनेर भन्न नपाउनेपनि जिकिर गरे । उनले भने,‘कि त सरकारले हामीसँग दुई तिहाई छैन भनेर भन्नुपर्यो । होईन, भने उहाँहरुलाई केले रोक्यो ?’

उनले अनशनरत डाक्टर केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरे । त्यस्तै केसीसँग भएको सम्झौता अक्षरंश पालना गर्नुपर्नेपनि उनले बताए । मेडिकल क्षेत्र र शिक्षाको सुधारको लागि छुट्टै मेडिकल विश्वविद्यालय चाहिनेपनि उनको भनाई छ । उनले थपे,‘मेडिकल क्षेत्र सुधारको लागि माथेमा आयोगको प्रतिवेदन राम्रो र उत्कृष्ट छ । तर, त्यो प्रतिवेदन पूर्ण होईन । यसको लागि मेडिकल युनिभर्सिटी आवश्यक हुन्छ ।’

वर्तमान सरकारले डाक्टर केसीसँग भएको सम्झौताविपरित विद्येयक ल्याएर बेईमानी गरेको पनि उनले टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?