हावाबाट बिजुली बलेपछि….

पाँचथर– लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो ।
बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको स्वरूप फेरिएको हो । बिजुली बल्न थालेपछि मात्र आफूहरूको बजार बजार जस्तो लाग्न थालेको स्थानीयले बताएका छन् ।
टुकीको टिलपिले उज्यालोमा रात काट्नुपर्ने सप्तमीका एक सय घरमा अहिले उज्यालो छाएसँगै सप्तमी नमुना बजार भएको छ । वायु ऊर्जासँगै ५० किलोवाट क्षमताको सौर्य प्रणालीको विद्युत् पनि सञ्चालनमा ल्याइएको छ । यसबाट जम्मा ११० घर लाभान्वित हुने जनाइएको छ । अहिले ७६ घरले विद्युत सेवा लिन थालेका छन् । थप विद्युत वितरणका लागि विद्युतीकरणको काम भइरहेको  छ ।
सप्तमी बजार नजिकै डाँडामा निकै जोडले हावा चल्छ । सो स्थानमा दुई वटा फ्यान र १५२ वटा सोलार प्यानल राखेर विद्युत निकाल्न थालिएको हो । योजनाको प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले गरेको हो ।
सप्तमी डाँडामा परीक्षणका लागि २०७० सालदेखि लगातार पाँच वर्षसम्म हावाको चाप मापन उपकरण राखिएको थियो । यो अध्ययनबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना देखिएको थियो । यसपछि वायु तथा सौर्य मिनीग्रिड उपभोक्ता समिति बनाई बिजुली बाल्ने योजना थालिएको थियो ।
परियोजनाका लागि एसियाली विकास बैंकबाट चार करोड पचास लाख र उपभोक्ताबाट २० लाख र मिक्लाजुङ गाउँपालिकाबाट २४ लाख ७५ हजार रुपियाँ जुटाइएको थियो । गोरखापत्र दैनिकमा खबर छापिएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?