बाँदर नियन्त्रणमा ११ लाख खर्च

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाले झण्डै ३३० बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पुर्याएको छ । 

बाँदरले बालीनाली सखाप पारेको गुनासो आएपछि महाशिलाले अभियान नै चलाएर बाँदर समातेर चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर निकुञ्जमा पुर्याइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

उनका अनुसार यतिको सङ्ख्यामा बाँदर नियन्त्रणमा लिनका लागि ११ लाखभन्दा बढी खर्च भएको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष ०७५-०७६ मा १५ लाख विनियोजन गरेको छ । सोमध्ये ११ लाख खर्च भइसकेको प्रवक्ता उच्चैले बताए ।

गाउँमा उत्पादित फलफूल, मकै, धान, तरकारी, आलु बाँदरले सखाप पारेपछि महाशिलाको गाउँसभामबाटै बाँदर नियन्त्रण गर्न प्रस्ताव पारित गरिएको थियो । 

भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकोमा गएको साउनदेखि यता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?