सिंहदरबारभित्र पुराना गाडी डम्प गर्न निषेध

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र लामो समयदेखि थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने भएको छ । ती गाडीलाई प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाइने गृहकार्य अघि बढाइएको हो ।
प्रधानमन्त्री कार्यालयले अब सिंहदरबारभित्र पुराना गाडी डम्प गरेर राख्न निषेध गरेको छ । मर्मत गरेर प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई तत्काल लिलाम गर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै प्रावधान देशभरका सरकारी निकायमा समेत लागू गरिने भएको छ । प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ ।

डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ । सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन् । कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् ।
मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार चालू अवस्थामा आउन सक्ने गाडीहरू छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?