त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएससी इन एग्रिकल्चर (बीएससी एजी) भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको छ । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितता देखिएको हो ।

५५७ नम्बर रोलक्रमका विद्यार्थीले भर्ना पाउँदा १९९ मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थी भरत अधिकारी भर्ना हुन पाएनन् । अधिकारीले भने, ‘न्यायसंगत आधारमा भर्ना गरिएको छैन । अब मेरो भविष्य के हुने ? यसको जवाफ कसले दिन्छ ?’ राजधानी दैनिकमा खबर छापिएकाे छ ।

अधिकारीको नाम दुर्गमबाट एक नम्बरमा निस्किएको छ । महोत्तरीका अजितप्रसाद यादवले मधेसी कोटामा आफू दुई नम्बरमा पर्दा पनि भर्ना हुन नपाएको गुनासो गरे । उनले भने, ‘आइतबार म शैक्षिक प्रमाणपत्र लगेर कार्यालय पुगेको थिएँ । तर, मलाई त्यत्तिकै फिर्ता गरियो ।’

मेरिट लिस्टमा यादवको नाम १६२ नम्बरमा भए पनि ३० पुसमा ५५८ नम्बरपछिका आरक्षण कोटाका लागि रोलक्रमका आधारमा भर्ना प्रक्रिया अघि बढाएको थियो । मेरिट लिस्टका आधारमा १०६ देखि ५५५ रोलक्रममा परेका विद्यार्थी भर्ना हुनबाट प्रभावित भएको देखिएको छ ।

मुस्लिम कोटामा एक नम्बरमा नाम निस्केका बाराका खुर्सिद अहमदले पनि त्रिविले खेल रचेर आफूलाई भर्ना हुन वञ्चित गराएको बताए । २९ पुससम्म मेरिट लिस्टमा परेका विद्याथी भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको थियो । अपारदर्शी तवरले मेरिट लिस्टमा ५५७ नम्बरसम्ममा रहेकालाई भर्ना गरिएको विद्यार्थीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?