स्वर्गीय राजा वीरेन्द्रका परिवारको सम्पत्ति अब भाडामा लिन पाइने

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रका परिवारको सम्पति भाडामा लिन पाइने भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको राज परिवारको सम्पतिलाई भाडामा लिन सकिने भएको हो ।

कानुनमा परिवर्तन गरी उक्त सम्पतिलाई भाडामा दिएर आय वृद्धि गर्न लागिएको ट्रष्ट कार्यालयका सहसचिव यदुप्रसाद पन्थीले जानकारी दिए । उनका अनुसार दिवंगत राजा वीरेन्द्र र उनको परिवारको राष्ट्रियकरण गरिएको सम्पत्ति भाडामा दिएर आयवृद्धि गर्न भन्दै सरकारले कानुन संशोधन गर्न लागेको छ ।

‘हामीले कानुन संशोधनका लागि मन्त्रीपरिषदमा पठाएको छौं,’ सहसचिव पन्थीले लोकपथलाई भने, ‘संशोधन भएर आएपछि कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’

उनका अनुसार पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न नेपाल ट्रष्टको सिफारिसमा निश्चित अवधिका लागि व्यक्ति वा संस्थालाई लिजमा दिन सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । 

यसअघि शैक्षिक तथा प्राज्ञिक संस्थाहरूलाई अनुदान दिन सकिने र अस्पताल, स्वास्थ्य चौकी र सार्वजनिक प्रयोजनका चिकित्सालय सञ्चालन गर्न सकिने व्यवस्था थियो ।

दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति गणतन्त्र आइसकेपछि राष्ट्रियकरण गरिएको थियो । त्यसको संरक्षण गर्ने, थप जग्गा खोज्ने, ती सम्पत्ति समाजिक काममा लगाउने जिम्मा नेपाल ट्रष्टलाई दिइएको छ । 

ट्रष्ट स्थापना भएको झन्डै ११ वर्ष पुग्दै गर्दा उक्त सम्पत्तिलाई भाडामा दिने व्यवस्था गर्न लागिएको छ । ट्रष्टको मातहतमा रहेको सम्पत्तिहरू प्रयोग विहीन बनाउनुभन्दा त्यसलाई भाडामा दिएर ट्रष्टको आय वृद्धि गर्नु पर्छ भन्ने उद्देश्यका साथ यस्तो प्रस्ताव गरिएको सहसचिव पन्थीको भनाई छ । 

५५ वटा कानुनको संशोधनमा परेको यो कानुन विधेयकका रूपमा हाल संसदमा रहेको छ । उक्त विधेयक संसद बैठकमा प्रस्तुत गरिएपछि थप छलफलका लागि संसदका समितिमा पठाउने कि सीधै पास गर्ने भन्ने निर्णय हुने संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

विधेयक संसदबाट पारित भएपछि राजा वीरेन्द्रको परिवारको नामको सम्पत्ति व्यक्ति र संस्थाले भाडामा लिएर पर्यटकीय र व्यावसायिक काम गर्ने बाटो खुल्ने छ । राजसंस्थाको नाममा रहेको बाहेक राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका नाममा रहेको सम्पत्ति मात्र ट्रष्टको स्वामित्वमा छ ।

राजा वीरेन्द्रका परिवारका नाममा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा छ । उक्त जग्गामध्ये काठमाडौंमा १५१ कित्तामा ४४३८ रोपनी छ ।

भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुर्खेत, कास्की, चितवन र धादिङमा समेत जग्गा रहेको छ । जमिनका अतिरिक्त तयारी अवस्थामा रहेका भवनहरू पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?