निमोनियाले च्याप्यो डा. केसीलाई, तत्काल आइसीयूमा राख भन्छ इलाम अस्पताल

इलाम । इलामबाट १६औँ अनसन शुरु गरेका डा. गोविन्द केसीलाई निमोनियाले च्यापेको छ । 

गत पुस २५ गतेदेखि १६ औँ अनसन शुरु गरेको सातौं दिन पुग्दा डा. केसीलाई निमोनियाले च्यापेको हो ।

गत शुक्रवारदेखि डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देख्नुका साथै छातीमा समस्यादेखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका थिए । उनलाई चिकित्साहरुले सावधानी अपनाउन समेत सुझाव दिएका थिए । 

डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । तर, इलाममा आइसीयु छैन । 

त्यस्तै डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई तत्कालै विर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने छ । तर, केसीले औषधी उपचार गर्न अस्वीकार गर्दै आएका उनका सहयोगी धर्म गौमतले जानकारी दिए । 

उनले भने, ‘डा. गोविन्द केसीले अस्पतालबाट कतै नसर्ने र उपचार पनि नगर्ने भन्नु भएको छ ।’ 

१५औँ अनसनका क्रममा सरकार र डा. केसीबीच गत साउन १० गते भएको सहमति विपरित गत पुस १५ गते संसदीय शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित १६ औँ चरणनको अनसन शुरु गरेका हुन् । 

त्यस्तै डा. केसीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

यसैगरी सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना शुरु गर्नुपर्ने र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत माग डा. केसी छ ।  

यसैगरी डा. केसीले सरकारसँग वार्ता पनि नगर्ने बताएका छन् । 

डा. केसीका सहयोगी गौतमले भने, ‘हिजोको सहमति पूरा नगरी वार्ता बस्नुको औचित्य छैन, सरकारले चाहेमा संसदबाट डा. केसीको सम्झौता हुबहु कार्यान्वयन गराउन सक्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?