बसाइसराईका कारण गाउँ रित्तियो

पर्वत । पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन । शिक्षा, स्वास्थ्य र भौतिक सुबिधा नभएको भन्दै ग्रामिण क्षेत्रका स्थानीय जनता सुगम ठाउंमा स्थानान्तरण हुन थालेका छन । गाउँ छाड्ने क्रम बढेपछि जनजातिको बाहुल्यता भएका पर्वतका दर्जनौ बस्ती रित्तो हुदै गएको छ ।

डेढ दशकको अवधीमा पर्वतको आर्थर डाडाँखर्क, चित्रे, भूकदेउराली, दुर्लुङ्ग, पुर्णगाउँ, भोक्सिङ्ग, क्याङ्ग, शालिजा, लेस्पार, लगायतका बस्तीहरुबाट दुई तिहाई भन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाई सरेका हुन । सुबिधाको खोजीमा अधिकाश ग्रामिण क्षेत्रका बासिन्दा पोखरा वरपरका क्षेत्रमा बसाई सरेका छन भने कुस्मा, पातीचौर, बेनी लगायतका बजारमा पनि उत्तिकै संख्यामा स्थानान्तरण भएका छन ।

दुर्लुङ्गको काफलचौरमा दुई दशक अघि करिब ७० परिवारको बसोबास थियो । कसैका पनि घरमा शौचालय थिएनन् । गाउँमा खानेपानी,बिजुली र सिँचाइ आदि कुनै सुविधा थिएन । सामान्य बिरामी पर्दा पनि उपचारका लागि ४ घण्टाको यात्रा गरेर सदरमुकाम कुश्मा पुग्नुपथ्र्यो । गम्भीर बिरामी पर्दा बिरामी बाँच्ने आसै हुदैन थियो ।

अहिले त्यहाको अवस्था फेरिएको छ । घरघरै पानीका धारा छन् । अस्थायी छाप्रामा पनि चिटिक्कका पक्की शौचालय बनेका छन् । एक–दुई घर भएका स्थानमा पनि बिजुलीका फलामे पोलमा तार पुगेको छ । टोलटोलमा सडक छ । खेती गर्न सिँचाइको व्यवस्था पनि भएको छ । तर, गाउँ रित्तिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?