उपत्यकाको वायु प्रदूषण उच्च, पुराना सवारीले ५० प्रतिशत प्रदूषण

काठमाडौं। उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ ।रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार बिहान २ः४५ मा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दरले १४५ पुगेको थियो ।
विश्व स्वास्थ्य संगठनले पीएम २ दशमलव ५ को मात्रा १० माइक्रोग्राम क्युबिक मिटर निर्धारण गरे पनि सरकारले राष्ट्रिय मापदण्ड ४० निर्धारण गरेको छ । ‘काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारणका रूपमा सवारी प्रदूषण नै रहेको पाइएको छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धुवाँ फालिरहेका हुन्छन्, त्यसमा पनि २० प्रतिशतले सबैभन्दा बढी धुवाँ फालिरहेको छ ।’

सन् २००५ मा ट्राफिक प्रहरीको सहायतामा धुवाँ फालिरहेको सवारीसाधनलाई रोकेर परीक्षण गरिएको थियो । त्यो काम रोकिँदा प्रदूषण बढ्दो क्रममा रहेको छ । ‘सडकमा कुँदिरहेका सवारीसाधनले फालेको धुवाँ हेर्दै थाहा हुन्छ, चेकजाँच नै गरिरहनुपर्दैन,’ उनले भने, ‘यस्ता सवारीसाधनलाई हटाउने तथा थोत्रा सवारीसाधनको मर्मतसम्भार गर्न सकियो भने पनि ५० प्रतिशत सुधार आउँछ र यो गर्न पनि सकिन्छ ।’ राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?