डा.केसीलाई काठमाडौं ल्याउन नागरिक समाजको पहल, पूर्वप्रधानन्यायाधीश कार्की इलाममा

काठमाडौं । नवौँ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई काठमाडौं ल्याउन पहल शुरु भएको छ । 

डा. केसीलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल शुरु भएको हो । 

गत पुस २५ गते संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको थियो । १५ औँ अनसनका क्रममा गत साउन १० गते सरकारले आफूसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा पारित भएको भन्दै डा. केसीले इलामबाट १६ औँ अनसन शुरु गरेका थिए । 

अनसनको नवौं दिनसम्म पनि सरकारको तर्फबाट कुनै पहल नभएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा आज इलाम गएका छन् । 

केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि काठमाडौं ल्याउने पहल गर्न उनीहरु इलाम गएका हुन् । 

डा. केसीले माने आजै हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी नागरिक अगुवाहरुको छ । 

यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोली हिजै (बुधवार) इलाम पुगिसकेको छ । 

इलाम पुगेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा डा. केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको छ । 

चिकित्सकहरुले डा. केसीलाई तत्कालै आइसियू भएको अस्पतालमा सार्नुपर्नेे सुझाव दिएका छन् । 

पछिल्लो परीक्षण अनुसार डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भएको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको डा विजेन्द्र कुमार शाहले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?