इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रहरी सहायक निरीक्षक हितबहादुर कटुवालले जानकारी दिए ।

उनका अनुसार गारो भत्कँदा घाइते दुवै बालबालिकाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का बाबुराम घर्तीको तीन वर्षीया छोरी झरनाको टाउकामा गम्भीर चोट लागेको र भारतको दरभङ्गा जिल्ला प्रितिपरककी ३५ वर्षीया सीता पासवानको छातीमा चोट लागेकाले बोल्न नसक्ने अवस्थामा रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

भक्तपुरका सानु कोजूले सञ्चालनमा ल्याएको उक्त इँटा उद्योगको इँटाको टुक्रा टिप्ने क्रममा सोही उद्योगमा काम गर्ने मजदूरका बालबालिका खेलिरहेका अवस्थामा अन्दाजी १० फिटको ‘डिग वाल’ भत्किएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?