अविवाहित आमाले संगालेको खुसी, थिएटर आर्टिस्ट श्री नेहाको बदलिएको परिचय

जसका कोही छैनन् उसको स्नेही काख छ ।

अर्थात् मानसिक सन्तुलन गुमाएका कैयौं बेसाहारा व्यक्तिहरुलाई पुनर्जीवन दिइरहेको छ, नेपाल स्नेही काखले ।

यहाँको आँगन साँच्चै नै धेरैजनाका लागि आमाको ‘स्नेही काख’ सावित भएको छ ।

आफूले जीवनमै कहिल्यै नपाएको माया, ममता र न्यानोपन यहाँ पाएको उद्धार गरी ल्याइएका मानसिक रोगीहरु बताउँछन् । 

त्यसैले उनीहरु संस्थाकी संस्थापक श्री नेहालाई आमा भन्छन् । भर्खर बोली फुटेको बच्चादेखि वृद्धवृद्धाले समेत उनलाई ‘आमा’ भनेरै सम्बोधन गर्छन् । अविवाहित भएपनि उनी धेरैजनाकी ‘भावनात्मक आमा’ बनिसकेकी छिन् । 

२५ वर्षे श्री नेहा थिएटर आर्टिस्ट हुन् । केही वर्षअघिसम्म थिएटरमै सक्रिय भएतापनि आजभोलि भने संस्थालाई नै आफ्नो समय दिइरहेकी छिन् उनले ।

‘स्नेही काख’ स्थापना गर्ने प्रेरणा पनि थिएटरमै काम गर्ने क्रममा पाएको उनले सुनाइन् । ‘एकदिन थिएटरबाट फर्किंदै गर्दा मानसिक सन्तुलन गुमाएका व्यक्ति सडकमा लम्पसार परिरहेको देखेँ,’ उनले अगाडि थपिन्, ‘त्यस व्यक्तिले भोक लागेको सङ्केत गरे त्यसपछि हरेक दिन म उसका लागि घरबाट खाना ल्याइदिन थालें ।’

त्यही व्यक्तिलाई खाना खुवाउँदै जाँदा श्रीनेहाको मस्तिष्कमा एउटा कुराले आयोे, ‘खानलाई समेत तड्पिरेहका बेसाहारा मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार गर्ने ।’

त्यसपछि योजनाअनुरुप ‘स्नेही काख’ को स्थापना भयो । संस्था स्थापना भएको अहिले ८ वर्ष पूरा भइसकेको छ । यहाँ मानसिक सन्तुलन गुमाएका २४ जना महिला, ११ जना पुरुष र ७ बालबालिका छन् । महिला र बालबालिकालाई एउटै घरमा राखिएको छ भने पुरुषलाई भिन्नै घरमा । त्यस्तै उनीहरुबाट जन्मिएका बालबालिकालाई  हुर्काउने जिम्मा पनि श्री नेहाले नै लिएकी छिन् । 

‘सबैभन्दा धेरै माया कसको लाग्छ ?’ भन्ने प्रश्न गर्दा उनीहरु ‘आमा’ को भन्दै श्री नेहालाई देखाउँछन् । 

हुन पनि श्री नेहाले उनीहरुलाई आमा सरह नै हेरचाह गरिरहेकी छिन् । टाइमटेबलमा खाना, खाजा दिनेदेखि चाडपर्वमा रमाइलो गराउने, बेलाबेला फिल्म देखाउने, नाँचगान गराउने जस्ता क्रियाकलाप मार्फत् । 

आफ्नै सन्तानले समेत बाबुआमालाई बोझका रुपमा लिने, आर्थिक अवस्था नाजुक भएका कारण बाबुआमालाई आफ्नै छोराछोरी पनि धेरै हुने यो समयमा श्री नेहाले ती बेसाहारा मानिसहरुलाई आश्रय मात्र होइन नयाँ जीवन नै दिएकी छिन् । 

यस्तै एक उदाहरण हुन्, केही समय अघि स्नेही काखमा उद्धार गरेर ल्याइएकी एक महिला । 

४०, ५० वर्ष जतिकी देखिने उनको पहिचान खुलेको छैन । उनलाई सडकबाट उद्धार गरेर ल्याउँदा शरीरभरि नीला डाम थिए । उपचारका क्रममा थाहा भयो उनलाई हरेकदिन सामूहिक बलात्कार गरिन्थ्यो । 

केही दिनको औषधी उपचारपछि उनी बोल्नसक्ने भएकी छिन् । त्यस्तो हालतसम्म पु¥याउने व्यक्ति को हो भन्ने प्रश्नमा अस्पष्ट आवाजमा भन्छिन्, ‘५ जना छोरा मान्छेले स्वास्नी बनाउन खोजे ।’ 

कैयौं दिनसम्म सडकमा सामूहिक बलात्कारको शिकार भएको उनको शरीर स्नेही काखको न्यानो मायाले तङ्ग्रिदै छ । 

यस अर्थमा जीवन बाँचिरहेका व्यक्तिले स्नेही काखमा जीवन जिउन सिकेका छन् । मुस्कुराउन सिकेका छन् । 

स्नेही काखलाई नै आफ्नो संसार बनाएकी श्री नेहाले पनि यहीँ आफ्नो खुसी पाउन थालेकी छिन् । भन्छिन्, ‘उहाँहरुको खुसीमै मेरो खुसी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?