जनकराज ढुंगाना ‘कालु’
इतिहासमा धेरै ठाउँमा इमान पराजय भएको छ र बेइमान विजय भएको छ ।
जनताको पटकपटकको बलिदानी सत्ताको भ¥याङ्ग बनाएका दलका नेताहरुले देश र जनताको हितमा काम गर्ने चेष्टा नराख्दा इमान हारेको हो ।
सत्ता र शक्तिको केन्द्रमा नपुगेसम्म जनताको जीविकाको विषयमा गर्जनेहरु सत्ता र शक्तिमापुगेपछि जनतासँगको वाचा कसम नाघ्न थालेपछि बेइमानीको जीत हुने नै भयो ।
जननी जन्म भूमिश्च स्वर्गदपि गरीयसी ।
जन्मदिने भूमि नै स्वर्ग समान हुन्छ, हरेक मानिस जन्मभूमिको ऋणी हुन्छ ।
उक्त ऋण तिर्न वाआफू जन्मेको भूमिलाई स्वर्ग समान बनाउनु उसको कर्तव्य हुन्छ ।
आफू जन्मेको भूमिमा बस्ने जल, थल, चराचर, पशुपक्षी सबैको हितचाहेमा मुलुक स्वर्ग बन्छ भनिन्छ ।
आफूलाई सबैथोक पुगोस्, अरूलाई जेसुकै होस् भन्ने व्यक्तिवादी चिन्तनबाट भने राष्ट्रको अस्तित्वमाथि नै प्रश्न उठाउँछ ।
यहीप्रश्नले जहिल्यै देश कहिले बिदेशीको पोल्टामा जाने हो, कतिवर्षसम्म बाह्य शक्तिकै निर्देशनमा चल्ने हो भन्ने चिन्ता उत्पन्न गराउने रहेछ ।
अप्रत्यक्षत विदेशी शक्ति मार्फत नै चल्ने त हो देश, सयौं वर्षदेखि ।
तर हस्तक्षेपका नयाँ कडी आश्र्चयजनक रुपमा बढेको देखिन्छ ।
एनजिओ, आईएनजिओले नेपालमा स्वार्थ अनुकुल बिजनेश गरिरहेका उदाहरण दुरुस्त देखिएपनि सत्ताको स्वीकारोक्ती भेटिन्छ ।
कसैलाई धर्म प्रचारको चिन्ता छ, कसैलाई राजनीतिक अस्थीरता र अशान्ती मच्चाएर स्वार्थको रोटी सेक्नु छ ।
होटल र कोठामा शान्तिका शिक्षा दिने तिनै, जात र धर्म उचालेर अशान्तीको वीष रोप्ने पनितिनै । जब आजको सत्ता ती तत्वसँग मौन रहन्छ र देखिन्छ, प्रश्न स्वभाविक हुन्छ आजको सत्ता पनि कतै तिनीहरुले नै चलाइरहेका त छैनन् ?
राजनीति अब सेवा रहेन ।
यो आम्दानी र ब्यापारको थलो भयो ।
राजधानीमा महलवाला सांसदहरु घरभाडा शीर्षकमा रकम कुम्ल्याउन थाले ।
हिजो सुत्केरी भत्ता आज घरभाडा ।
समय फरक, पात्र फरक तर प्रवृति र चरित्र उस्तै ।
पूर्व र वर्तमानलाई सुविधाको भारी थप्दै राज्यको ढुकुटी चुरे क्षेत्र झैं दोहनहुँदा तैं चूप मैं चुप ।
सबै सम्पन्न र सभ्रान्तपूर्वलाई राज्यको बुताबाहिरको सेवा सुविधाचाहिने, जसबाट समाज र देशमामाखो मर्नेवाला छैन तिनलाई अगुवा र पछुवा सुरक्षाकर्मी पनि चाहिने । शरमको बजारमा सोमत किन्न पाईंदैन, त्यसैले पूर्वहरुलाई लाज लाग्दैन ।
पाकिस्तानमा इमरान खानले सुविधा कटौती गर्दै विश्वविद्यालय बनाउने र विकासका काम अघि बढाउन थाले ।
यता बालुवाटारको नशा र भुतले सताइएका दुःखी आत्माहरुको लर्को छ ।
भन्नलाई मृत्युको दिन नजिक छ भनिन्छ, मरि लानु केही छैन भनिन्छ र सहानुभुति पट्याउने यत्न गरिन्छ, उता अपारदर्शिताका ठेली थपिंदै गइरहेको हुन्छ ।
मान्नेलाई पो विधि, नमान्नेलाई यत्रैसिती भनेर पनि देश चलिरहेकै छ ।
हाम्रो परम्परागत भाषामा असल शासन र न्यायपूर्ण समाजलाई रामराज्य भनिन्छ ।
तर रामराज्यका यम हुन वर्तमान युगमा कर्मचारी, व्यापारी, शासकवर्ग, न्यायाधीश, जनता सबैले आ–आफ्नो तर्फबाट राष्ट्रप्रति दायित्वनिर्वाह गर्न जरुरी हुन्छ ।
अनुभवको पाना पल्टायो सबै आफू पानीमाथिको ओभानो देखि नखोज्ने र दोष जति अर्काको थाप्लोमा थोपरेर रमाउने ।
कित्ता कित्तामा यही छ ।
पत्रपत्रमा यही छ ।
एउटाले अर्काको मूल्य र अस्तित्व स्वीकार गर्न नसक्नु नै आम चरित्र बनेको छ ।
राष्ट्रभित्र जनताबीच समझदारी र सहअस्तित्वको बोध सबैलाई हुनैपर्छ ।
तर न्यायलयमा हुने धन्दाको विषयमा कोही बोल्दैन ।
थाहा सबैलाई छ न्याय किनिन्छ, बेचिन्छ ।
प्रहरी, वकिल, न्यायाधीश सबैले यही भन्छन् न्यायकिन्न सक्नेका लागिमात्रभयो, निमूखाको लागि भएन ।
तथ्य पनि यही, सत्य पनि यही भएपछि आशा पलाउँछ कहाँबाट ?
व्यापारीले व्यापारमा मुनाफा मात्र होइन, सेवाग्राहीको हितपनि हेर्न सक्नुपर्छ ।
मुनाफा मात्र व्यापारको धर्म होइन ।
अचेल व्यापारमा लुट छ । व्यवसायमा पनि लुट छ ।
सामूहिक र संस्थागत लुटको साम्राज्यमा निमुखाको बोली बिक्दैन ।
सरकार सबै देख्छ, बोल्दैन ।
विधि बनाउने थलो आफैं नैतिक, चारित्रिक पतनका अभियोगीहरुको अखडा बन्दैछ, उसले देखेर पनि के लछारोस् ।
सुरक्षा निकाय सबै देख्छ, गोली ठोक्दैन ।
संचार जगत सबै देख्छ तर लेख्दैन ।
सौदाबाजीमा समाचार दिन्छ ।
यस्तो बेला विधिको शासनको नारा खुब बिक्छ । बिकिरहेकै छ ।
देशमा दुई तिहाईको सरकार छ ।
अब त केही हुन्छ भन्ने आशा बद्लिदैछ ।
पार्टी पूर्ण रुपमा एक हुन नपाउँदै भित्रभित्र अनेक पार्टीको भ्रुण विकास हुन थालेको सुनिन्छ ।
कति बेला कुन मुद्दामा बिग्रहको चट्यांग पर्ने हो दैब जानून् ।
कहिल्यै सग्लो र सिंगो हुन नसकेको नेपाली कांग्रेसको के कुरा ।
देउवा, पौडेल, सिटौला, कोइरालाको खन्तीले खनेको खाडल जति ठूलो र चौडा हुँदैछ उति कांग्रेस अरुलाई नामेट पार्छु भनेर डंका पिट्छ । कति हाँस्नु ?
पोखरामा पूर्वराजा ज्ञानेन्द्रले २४ वटा कोठा रिर्जभ गरे रे ।
गणतन्त्रको हुङ्कार गर्नेहरु डरले सिउसिउ गर्दै ‘के गरेको !’ भन्न थाले । बनको बाघले नखाए नि मनकै बाघले चिथोरेर मर्लान्त छन् धेरै शीर्ष ।
अरु पूर्वले चैं अगुवा पछुवा भिरेर चारचौरास चाहार्न हुने पूर्वराष्ट्राध्यक्षले चैं नागार्जु नै कट्न नहुने ? अचम्म छ दुनियाँ ।
हिजो घाँटी काट्न नसक्ने आज पाखुरा सुर्कने ? छि !
ठेक्का दियो, पुल बन्दैन ।
पुलबन्यो छ महिना टिक्दैन ।
भुक्तानी ठोकेर ठेकेदार दम्पच भइसकेको हुन्छ ।
भवन बन्छ, मान्छे नै नबसी चुहिन्छ ।
गाउँगाउँमा सिंहदरबारको नाममा डोजर र ट्रिपरका ठेकेदारहरुको स्थानीय शासन देखिनसक्नुको छ ।
झरीमा कालोपत्र भएको सडक हप्तादिनमा आलुको बोक्रा ताछेजस्तो हुन्छ ।
अपराध भो हजुर भन्यो, पुलिस उजुरी लिन मान्दैन ।
उजुरी लियो पुलिस नै नक्कली अपराधी खडा गर्दै आफैं बयान लिनदिन शुरु गर्छन् ।
अख्तियारकै सुरक्षाकर्मी घुस लिंदालिंदै चिरिप्प हुँदापनि कारबाही के भयो थाहा पाइदैन ।
बेइमानी हाम्रो नशा नशामा छ ।
बेइमानीको यही श्रीपेचमुनी कसरी जप्नु समृद्ध नेपाल सुखी नेपालीको नारा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया