सुदूरपश्चिम प्रदेशसभा बैठकः मृतकका परिवारलाई राहत दिन माग

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले डडेलधुरामा हालै भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । 

प्रदेशसभा भवन धनगढीमा बसेको आजको बैठकको शून्य समयमा बोल्ने सदस्यहरूले आर्थिक समस्याकै कारण उक्त बस दुर्घटनामा घाइते भएकाहरुको उपचार सहज हुन नसकिरहेको भन्दै प्रदेश सरकारले उपचारका लागि गरेको प्रतिबद्धता कार्यान्वयन गर्न माग गरे । 

सदस्यहरुले जनताको सहजरूपमा हुनसक्ने काम पनि हुन नसकेर अझै पनि एकात्मक शासन व्यवस्थाको जस्तो व्यवहार देखाइने गर्दा व्यवस्थाप्रति नै निराश हुने वातावरण देखिन थालेको, उखु, तरकारीलगायत बाली उत्पादक कृषकको कृषि उपजको उचित मूल्य प्रदान गर्न र महङ्गी नियन्त्रण गर्न पहल गर्नुपर्ने, छाडा पशु चौपायाको व्यवस्थापन एवं विगतको चट्याङ, पहिरोबाट प्रभावित जनतालाई राहत दिनुपर्नेमा ध्यानाकर्षण गराए । 

कतिपय सदस्यले नेपाल र भारतका आँखाका रोगीको उपचार गर्दै आएको कैलालीको गेटा आँखा अस्पतालको सेवा प्रभावकारी बनाउन नेत्र सङ्कलन बैंक स्थापनाको पहल हुनुपर्ने, कञ्चनपुरको डोके बजार नजिक नेपाल भारतको दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी नाली निर्माण गरिरहेको विषयमा गम्भीर हुनुपर्ने, द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार कार्यालयको पुनस्पनाको पहल गर्नसमेत माग गरे । 

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शान्ति नेपाली, सुशीला बुढाथोकी, हर्कबहादुर कुँवर र महेशदत्त जोशी तथा प्रतिपक्ष नेपाली काङ्ग्रेसका भरतबहादुर खड्का र राष्ट्रिय जनता पार्टीका मालामतीकुमारी रानाथारूले बोलेका थिए ।  

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा सुदूरपश्चिम प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए । अर्को बैठक यही माघ २७ गते दिनको २ बजे बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?