नयाँ मेस्सीको खोजीमा बार्सिलोना

काठमाडाैं- बार्सिलोनाले आफ्ना महान खेलाडी कप्तान लियोनल मेस्सीको विकल्प खोल्न थालेको छ । १५ बर्षदेखि बार्सिलोनामा खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीको विकल्प को होला ? भन्ने याे भविष्यले नै बताउने छ ।

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीमा खेलिरहेका मेस्सी अहिले ३१ वर्षका भए । उनी अहिले पनि बार्सिलोनाको मुख्य हतियार हुन् । यो हतियार कति र कहिलेसम्म चल्छ भनेर बार्सिलोना विचार गर्दैछ ।

अध्यक्ष बार्तोमोउले मेस्सीको स्थान परिपूर्ति गर्ने खेलाडीको खोजीमा आफू लागि रहेको बताए । एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीको बढ्दो उमेरलाई ख्याल गर्दै उनको दीर्घकालीन विकल्प खोजी गर्न थालेको बताएका हुन् ।

‘मेस्सीले एकदिन सन्यास लिनेछन् । मेस्सीको सन्यासपछि क्लबलाई उस्तै सफलता र लयमा हिँडाउन उनको विकल्प तयार पार्नुपर्ने हुन्छ । त्यसैले अहिले म नयाँ मेस्सी खोज्न लागि परेको छु,’ बार्तोमोउले भने ।

बार्तोमेउले मेस्सीले सन्यास लिएपछि बार्सिलोनालाई कठिन पर्न सक्ने स्वीकार्दै त्यो दिन आउन नदिन आफू गम्भीर रहेको पनि बताए ।

 ‘बढ्दो उमेरसँगै उनले सधैं खेलिरहन सक्दैनन् । क्लबसँग मेस्सीको सम्झौता २०२१ सम्म छ । तरपनि मेस्सी हामीसँगै रहनेमा विश्वस्त छौं,’ बार्तोमेउले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?