कैलालीको वन क्षेत्र मासिँदै

अत्तरिया । पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा वर्षेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेको छ । 

कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, खुटिया दिपायल द्रुतमार्ग, सेती लोकमार्ग निर्माणले वन मासिने क्रम बढ्दै गएको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजना निर्माणका क्रममा अहिलेसम्म १३ हजार ३ सय ४८ रुख काटिएका छन् । 

पहिलो चरणमा ६ हजार ७ सय २८, दोस्रो चरणमा तीन हजार ९ सय ५४ र तेस्रो चरणमा दुई हजार ६ सय ६६ गरी १३ हजार ३ सय ४८ रुख काटिएका छन् । एक राष्ट्रिय र आठ वटा सामुदायिक वन गरी नौ वटा क्षेत्रमा उक्त सङ्ख्यामा रुख काटिएको सेक्टर वन कार्यालय बल्चौरले जानकारी दिएको छ । 

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको पानी कैलालीको घोडाघोडी नगरपालिका–१० भएर बग्ने कान्द्रा नदीमा मिसाउने योजना रहेको आयोजनामा कार्यरत इञ्जिनीयर कृष्णबहादुर विष्टले जानकारी दिए ।

सो स्थानसम्म नहर बनाउँदा सयौँको सङ्ख्यामा रुख काटिने अनुमान गरिएको छ । 

पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टि खुटिया दिपायल द्रुतमार्ग, सेती लोकमार्ग निर्माणले तराईको भावर र चुरे क्षेत्रको वन विनाश हुने देखिएको छ । भावर र चुरे क्षेत्रमा हुने विनाशले वातावरणमा असन्तुलन भई तराईमा डुबानको खतरा हुने वन संरक्षणकर्ताको भनाइ छ ।

कैलालीमा निर्माणाधीन हुलाकी मार्गले ४८ दशमलब ८१ हेक्टर वन क्षेत्र ओगटेकामा एक हजार ४० रुख हटाउनु पर्ने वन डिभिजन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए । 

उनका अनुसार सेती लोकमार्ग निर्माण गर्दा नौ हजार ६ सउ ८६ रुख हटाउनुपर्ने र खुटिया दिपायल फाष्ट ट्रयाकमा ३५ दशमलब ७३ हेक्टर वन क्षेत्रफल पर्छ भने ७ सय ७९ रुख सङ्ख्या हटाउनुपर्ने छ ।

विकास निर्माणका योजना गर्दा कार्ययोजनामा एक रुख काटेवापत २५ वटा रुख रोप्नुपर्ने प्रावधान भएपनि सो कार्ययोजना कार्यान्वयनमा देखिएको पाइँदैन । 

कैलालीमा कुल क्षेत्रफलको दुई लाख पाँच हजार ९ सय ३९ हेक्टर ‘६२ दशमलव ६८ प्रतिशत’ वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार ९ सय ३१ वर्ग किलोमिटर ‘५९ दशमलव ७० प्रतिशत’ र चुरे क्षेत्रमा एक हजार ३ सय ३ दशमलव सात वर्ग किलोमिटर ‘४० दशमलव ३० प्रतिशत’ वन रहेको तथ्याङ्क छ । 

जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागत गरी २५ हजार ५ सय  हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा रहेको, अतिक्रमणले वसन्ता जैविक मार्गको कनेक्टीभिटी जोखिममा रहेको र वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको वासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी-तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको सहायक वन अधिकृत भीम ढकालको भनाइ छ । 

प्रदेश नं ७ मा सबैभन्दा बढी वन क्षेत्र कैलाली र कञ्चनपुरमा रहेको छ । वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी रहेको तथ्याङ्कले देखाएको छ ।

कैलालीमा हालसम्म करीब ३० हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ । तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ । 

कैलालीमा बढ्दो शहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य सुविधा, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक छ । बसाइँ सरेर आएका कतिपयले वन अतिक्रमण गरी घर टहरा निर्माण गर्ने गरेका वन प्राविधिकको भनाइ छ ।

सुकुम्बासी, बाढीपीडित, मुक्तकमैया, आरक्ष पीडितका नाममा समेत वन क्षेत्र अतिक्रण हुँदै आएको छ । 

डिभिजन कैलालीका अनुसार तराई र भावर क्षेत्रमा एक हजार ९ सय ३१ र चुरे क्षेत्रस्थित एक हजार ३ सय ३ वर्ग किलोमिटर क्षेत्रफलमा व्यवस्थापनको कार्य अगाडि बढाइएको छ । हाल जिल्लाको दुई साझेदारी र १९ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको छ ।

दिनानुदिन भएको वन क्षेत्र मासिँदै जाने संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको असर गम्भीर देखिने खतरा बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?