रेल्वे लिकमा शव भेटिएका छात्राहरुको कोठामा ‘सुसाइड नोट’

वीरगञ्ज – भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो ।

प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘भित्र पस्नासाथ देखिने गरी सुसाइड नोट राखिएको थियो ।’

पर्साको कालिमाई गाउँपालिका –२ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका –३ हरिहरपुरकी किरण चौरासियाको शव आइतबार बिहान सीमावर्ती रक्सौल–सुगौली खण्डको कनमा ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो । एक जनाको घाँटी र अर्कोको दुवै घुँडा माथिको भाग छिनेको थियो ।

रातो मसीले लेखिएको सुसाइड नोटमाथि रातो गुलाब र घडी राखिएको थियो । सुसाइड नोटमा कसैलाई आरोप लगाइएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?