सरकारको कामबाट जनतामा निरासा छाएको नेता पौडेलको भनाई

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।” 

सरकारप्रति कडारुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गरे । उनले भने, “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए । 

अर्को एक प्रसङ्गमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताए । महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए । 

नेता पौडेलले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताए । केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गरे । 

नेता पौडेलले राजीनामा दिएको केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दो ढङ्गबाट कोही कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?