नेविसंघका नेतृहरुले देउवालाई घेरे, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्यार्थी संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरुले दवाव दिन थालेका छन् । उनीहरुले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दवाव दिएका हुन् । 

नेविसंघका निवर्तमान महिला नेतृहरुको नेतृत्वमा छात्राहरुको एक समूहले पार्टी सभापति देउवालाई शनिबार भेटेका छन् । देउवा निवास पुगेका महिला नेतृहरुले महिलालाई भावी नेतृत्व दिनुपर्ने आधार र कारण पेश गरेका थिए । 

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य मिरा कटवाल, पूजा उपाध्याय, गिता गुरुङको नेतृत्वमा गएको महिला नेतृहरुको समूहले सभापति देउवासँग भेटेर भावी अध्यक्ष महिलाले पाउनु पर्ने माग राखेका थिए । 

महिला नेतृहरुले सभापति देउवाकै पहलमा विधान र उमेर हद लागु भएको सहित नयाँ योजना कार्यक्रम ल्याएकोले नेतृत्व पनि महिलालाई दिएर नयाँ इतिहास बनाउन माग गरेको गुरुङले जानकारी दिइन् । 

नेविसंघको अब गठन हुने तदर्थ समिति निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनको अध्यक्षतामा गठन गर्नुपर्ने माग समेत गरेका थिए । चलाउनलाई नेविसंघको भावी अध्यक्ष बनाउनु पर्ने माग बढ्दै गएका छन् । नेविसंघका महिला नेतृहरु एकमतका साथ चलाउनेलाई अध्यक्ष बनाउने पर्ने भन्दै पार्टी नेताहरुलाई दवाव दिन थालेका छन् । काठमाडौं र बाहिर जिल्लाबाट ५० भन्दाबढी नेविसंघका नेतृहरु देउवा निवास पुगेका थिए । 

नेविसंघको इतिहासमा पहिलो पटक उमेर हद लागु हुने भएपछि नयाँ पुस्ता खुशी भएको छ । उनीहरुले उमेर हद हटाउने चलखेल भएको भन्दै पार्टी सभापतिलाई सचेत समेत गराएका थिए । 

भेटमा सभापति देउवाले नेतृत्व महिलालाई दिन आफू सकारात्मक रहेको बताउँदै फागुन  ९ गते बस्ने बैठकबाट निर्णय गर्ने जवाफ दिएको भेटपछि निवर्तमान केन्द्रीय सदस्य उपाध्यायले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?